
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् ।
केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले सम्भवतः आज केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटकपटक छलफल भएपनि कुनै निकास ननिस्किएकाले विशेष महाधिवेशन आह्वान गर्न लागेको केन्द्रीय सदस्य अजयवाबु सिवाकोटीले जानकारी दिए ।
महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने बताएका थिए । आज बिहान ९ बजे बस्ने कार्यसम्पादन समितिको बैठकपछि यो घोषणा हुनसक्ने सिवाकोटीको भनाइ छ । पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागिएको हो ।
कार्यसम्पादन समितिले भने आगामी बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरी विशेष महाधिवेशनको औचित्य नरहेको सर्कुलर वडा कमिटीसम्म गरिएको छ । संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा लाग्दा महामन्त्रीद्वयको यो कदमले पार्टीको विवाद नयाँ चरणमा प्रवेश गर्ने देखिएको छ ।
महामन्त्री पक्षले महाधिवेशनको तयारी तीव्र पारेको छ । हिजो नै आवश्यक पर्ने विभिन्न १८ वटा समिति गठन गरिएको छ । महाधिवेशन कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हल एकसाता आघि नै बुक भइसकेको छ । तर, विशेष महाधिवेशनको पक्षमा खुलेका केही नेताहरुले हस्ताक्षर फिर्ता गरेपछि यो पक्ष दबाबमा छ ।
बहुमत प्रतिनिधि उपस्थित गराएर नेतृत्व परिवर्तन गराउने प्रयासमा गगन थापा समूह छ भने बहुमत पुग्न नदिई भेलाका रूपमा सीमित पार्ने संस्थापनको तयारी छ ।












