
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने तयारीमा रहेका प्रमुख तीन दलबीच सिट बाँडफाटमा अझै सहमति जुट्न सकेको छैन ।
फागुन २० मा रिक्त हुने १८ सिटका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेल गरेर जाने विषयमा पटकपटक छलफल भएको थियो ।
आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । तर, राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा अहिलेसम्म कुरा मिल्न नसकेको नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय गोबिन्द आचार्यले जानकारी दिए ।
प्रमुख तीन दल विगत केही दिनदेखि राष्ट्रिय सभाका १८ सिटमा भागबण्डाको गृहकार्यमा लागेका छन्। तर, उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म पनि सिट बाँडफाँडमा सहमति भइनसकेको नेकपाका नेता हरिबोल गजुरेलले जानकारी दिए ।
उनले भने, ‘कांग्रेस र एमालेसँग हामीले मतभारको आधारमा सिट बाँडफाँड गरौँ भन्ने प्रस्ताव गरेका हौँ । तर उनीहरुले हाम्रो मतभार भन्दा कम सिट दिने तयारी गरेका छन्, हामीले त्यसमा सहमति जनाएका छैनौँ ।’
नेकपा गठबन्धनमा सहभागि नभए कांग्रेस र एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयासमा दुई दलका नेता लागेका छन् । कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा दुई दलबीच छलफल सुरु भएको छ ।
एमालेले मधेश प्रदेशबाहेक ६ जना उम्मेदवार छानिसकेको छ । तर, अन्य दलले भने अझै उम्मेदवार टुंग्याइसकेका छैनन ।












