Logo
Logo

भत्कियो ‘महागठबन्धन’ प्रयास, कांग्रेस-एमालेसँगको तालमेलबाट बाहिरियो नेकपा


3.3k
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल गर्ने प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । यससँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा चुनाव लड्ने उद्देश्यसहित बनाउने भनिएको ‘महागठबन्धन’को प्रयास तत्कालका लागि भत्किएको छ ।

राष्ट्रिय सभाका १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले ९ र एमालेले ८ जना उम्मेदवार उठाउने गरी भागबण्डा टुंग्याइसकेका छन् । दुवै दलले उम्मेदवार चयनसमेत गरिसकेका छन् । मधेश प्रदेशमा भने कांग्रेस–एमालेले जनता समाजवादी पार्टी नेपाललाई एक सिट दिने सहमति गरेका छन् ।

नेकपाले भने सबै १८ सिटमा एकल उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेदवार छनोट प्रक्रिया अघि बढाइसकेका छन् । नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ भने अन्य प्रदेशमा पनि उम्मेदवार टुंग्याउने काम तीव्र रूपमा अघि बढाइएको छ ।

अंकगणितमा कांग्रेस–एमाले बलिया
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । सातै प्रदेशमा ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल १ हजार ५०६ मतदाता छन् ।

रिक्त १९ सिटमध्ये १८ पदका लागि माघ ११ गते मतदान हुँदैछ । मनोनित सांसद वामदेव गौतमको स्थान भने सरकारले अर्को व्यक्तिको नाम सिफारिसमार्फत पूर्ति गर्नेछ ।

प्रदेशगत रूपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

कांग्रेस र एमालेबीच अन्तर्घात नहुने हो भने राष्ट्रिय सभा निर्वाचनमा यी दुई दलले अधिकांश प्रदेशमा सहज जित निकाल्न सक्ने अंकगणितीय अवस्था देखिन्छ । मधेश प्रदेशमा तेस्रो शक्तिलाई समेत समेटिएकाले उनीहरूको स्थिति झनै बलियो बनेको छ ।

कोशी प्रदेशमा एमालेको ४,२१० र कांग्रेसको ३,७२२ मतभार जोड्दा ७,९३२ मतभार पुग्छ । यो कुल १०,१३५ मतभारको स्पष्ट बहुमत हो । यस प्रदेशमा नेकपाको १,६२३ मतभार छ ।

मधेश प्रदेशमा कांग्रेसको ३,१०४ र एमालेको २,४०८ मतभार जोड्दा ५,५१२ पुग्छ । यो कुल १०,८३९ मतभारको बहुमत हो । यहाँ नेकपा चौथो स्थानमा छ, जसको मतभार १,३४६ छ ।

बागमती प्रदेशमा कांग्रेसको ४,०१३ र एमालेको २,५७१ मतभार छ । दुवै जोड्दा ६,५८४ पुग्छ, जुन १०,३३५ कुल मतभारको बहुमत हो । बागमतीमा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ, जसको मतभार २,७३८ छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २,७०४ र एमालेको २,४५८ मतभार जोड्दा ५,१६२ पुग्छ । यो ६,४१० कुल मतभारको दुई तिहाइ नजिकको अवस्था हो । यहाँ नेकपाको मतभार १,०१३ छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसको ३,१७९ र एमालेको २,८१० मतभार जोड्दा ५,९८० पुग्छ । यो ८,७५३ कुल मतभारको दुई तिहाइ हो । यहाँ नेकपाको मतभार १,३९६ छ ।

कर्णाली प्रदेशमा कांग्रेसको १,८६३ र एमालेको १,१९५ मतभार जोड्दा ३,०५८ पुग्छ । यहाँ कुल मतभार ५,१२२ रहेको छ । यस प्रदेशमा दोस्रो स्थानमा रहेको नेकपाको मतभार १,८४४ छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको २,५५८ र एमालेको १,५३३ मतभार जोड्दा ४,०९१ पुग्छ । यहाँ कुल मतभार ६,१५३ रहेको छ, जसमा कांग्रेस–एमालेको संयुक्त मतभार दुई तिहाइ नजिक पुग्छ । यस प्रदेशमा नेकपाको मतभार १,३६५ छ ।

प्रतिक्रिया दिनुहोस्