काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

ठाकुर जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए र सोही ठाउँबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितिसकेका छन् ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । त्यसपछि जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनु अघि ठाकुर लोसपाका अध्यक्ष थिए ।
राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट बाँडफाँड गरिएको छ ।












