काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक सरकारका मन्त्री कुलमान घिसिङ काठमाडौँ-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा जुटेका छन् ।

कुलमान उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका थिए । उनका दाइ, गणेश घिसिङका अनुसार, “काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने निश्चित जस्तो छ ।”
जेनजी आन्दोलनपछि कुलमानले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर गठन भएको उक्त पार्टी पुस दोस्रो साता रवि लामिछाने नेतृत्वको रास्वपासँग समाहित भएको थियो ।
उनको सक्रिय राजनीतिक गतिविधि र मन्त्री भएको अवस्थामा चुनावी तयारीमा लाग्नुप्रति आलोचना पनि भइरहेको छ । दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीति गर्ने मन्त्रीहरूले राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन् ।












