जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेस प्रदेशका चार सिटमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालबीचको गठबन्धन टुट्ने खतरा बढेको छ।

जसपा नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहका अनुसार, आफूहरूलाई एक सिट नदिँदा गठबन्धन टुट्न सक्ने सम्भावना रहेको छ । उनका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
केही दिनअघिमात्रै लोसपा र जसपा नेपालबीच पार्टी एकता भएको थियो । तर, कांग्रेस र एमालेसँग प्राविधिक पक्षमा तालमेल नमिलेको कारण जसपाले चार सिटमध्ये तीन सिटमा उम्मेदवारी दिने तयारी गरेको छ ।
जसपाका उम्मेदवारमा अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला शाह र दलिततर्फ चमेली देवी रहेका छन् । शैलेन्द्रप्रसाद साहका अनुसार, आवश्यक परे तालमेल मिलाएर उम्मेदवारी फिर्ता लिन पनि तयार रहेको बताइएको छ ।












