Logo
Logo

अमेरिकाको जेलमा २ सय ९२ नेपाली


- दृष्टि न्युज/संवाददाता



न्युयोर्क, १८ माघ ।
धेरै नेपालीको लागि अमेरिका सपनाको देश हो । त्यही देश अमेरिकामा २ सय ९२ नेपालीहरु भने जेलमा परेका छन् ।


युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रवक्ता डिनेल बेनेटले दिएको जानकारी अनुशार अमेरिकाका विभिन्न अध्यागमन जेलमा सन् २०१९ को जनवरी ३१ सम्म २ सय ९२ जना नेपालीहरु रहेका छन् ।
यसरी अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये अधिकांश मेक्सिकोको सिमा क्षेत्र हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका कागजपत्र विहिनहरु हुन् । उनीहरुमध्ये अधिकांशले अमेरिकामा एसाइलमको दावी गरिरहेका छन् । सबैभन्दा धेरै नेपालीहरुलाई जर्जिया, एरिजोना र अलाबामाको अध्यागमन जेलमा राखिएको थियो ।

तर यी नेपालीहरुमध्ये कतिजना नेपालीहरुलाई कुन कुन अध्यागमन जेलमा राखिएको छ भन्नेबारे भने विवरण प्राप्त भएको छैन । दलाललाई लाखौं बुझाएर मेक्सिकोबाटो हुँदै अमेरिका छिर्ने क्रममा सिमानामा पक्राउ परेका नेपालीहरुलाई अध्यागमन जेलमा राखिदै आएको छ । कतिपय जेलमा परेका नेपालीहरु धरौटीमा रिहा हुने गरेपनि कैयौंको भने धरौटी अस्वीकार समेत गरिदै आएको छ ।

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको माताहतमा ७१ वटा अध्यागमन जेलहरु रहेका छन् । कतिपय अध्यागमन जेलहरुमा हिन्दु नेपालीहरुलाई समेत धर्म विपरित गाईको मासु खान दिएका समाचारहरु यसअगाडि सार्वजनिक भएका थिए । अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये ६ जनाबिरुद्ध अपराधको मुद्दा चलाइएको छ । उनीहरुमध्ये ३ जना भर्जिनिया, १ जना न्युयोर्क , एकजना कोलोराडो र एकजना न्युयोर्कमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्