काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको आधिकारिक निर्णय नमानेर कांग्रेसलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् ।

पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको स्मरण गराउँदै उनले सो निर्णयविपरीत विशेष महाधिवेशनको आह्वान गर्नु गलत भएको बताए ।
‘हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिन्छौँ। महामन्त्रीहरू त झन् बढी जिम्मेवार हुनुपर्छ,’ महतले अनलाइनखबरसँग भने, ‘पार्टीले वैशाख २८ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तर महामन्त्रीहरूले त्यो निर्णय मान्नुभएन ।’
आम निर्वाचन नजिकिँदै गर्दा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आन्तरिक विवाद सिर्जना गर्नु उपयुक्त नभएको उनको भनाइ छ। ‘विवाद गर्ने समय यो होइन। नियमित महाधिवेशन पुसमै गर्न सकिन्छ भन्ने धारणा उहाँहरूकै थियो । हामीले त्यतिबेलै यो समयमा सम्भव हुँदैन भनेका थियौँ,’ उनले थपे।
महाधिवेशन गराउने मुख्य जिम्मेवारी महामन्त्रीहरूमै रहेको उल्लेख गर्दै महतले महाधिवेशन ढिला हुनुको कारण पनि उनीहरूलाई थाहै भएको बताए । ‘महाधिवेशनको प्रक्रिया अघि बढिसकेको छ । तालिका मात्रै संशोधन भएको हो। यस्तो अवस्थामा विशेष महाधिवेशनको कुरा गर्नु उपयुक्त हुँदैन,’ उनले भने ।
अन्त्यमा उनले कांग्रेस देशकै जिम्मेवार दल भएको उल्लेख गर्दै वर्तमान अवस्था गम्भीर रहेकाले यस प्रकारका कदमले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिए ।












