Logo
Logo

अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता


378
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता भएको छ । बिहीबार नेपालको पर्यटन मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावासबीच सांस्कृतिक कलाकृति तथा सम्पदाको अवैध ओसारपसार (तस्करी) रोक्न र संरक्षण गर्न द्विपक्षीय सम्झौता भएको हो ।

यो सम्झौता सन् १९७० को युनेस्को महासन्धि अन्तर्गत अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रको नेतृत्वमा स्थापित छ । यो सम्झौताले नेपालको अमूल्य सांस्कृतिक धरोहरलाई अवैध आयात–निर्यातबाट जोगाउँदै लुटपाट भएका वस्तुहरू फिर्ता गर्न सहजीकरण गर्ने र वैध सांस्कृतिक, शैक्षिक तथा वैज्ञानिक आदानप्रदानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । 

सम्झौताअन्तर्गत धार्मिक वास्तुकलाका अङ्गहरू, अनुष्ठान तथा पूजाआजामा प्रयोग हुने वस्तुहरू, हस्तलिखित पाण्डुलिपिहरू लगायतका सामग्रीहरू संरक्षित छन् । यस्ता वस्तुहरू अमेरिकामा आयात गर्न नेपाली निर्यात प्रमाणपत्र अनिवार्य हुनेछ । 

यसले सङ्ग्रहालयहरू र सङ्कलकहरूलाई अवैध वस्तु प्राप्त गर्नबाट रोक्न मद्दत गर्नेछ र नेपालको सांस्कृतिक सम्पदालाई मौलिक स्थानमै संरक्षण गर्न योगदान पु¥याउनेछ। यो सम्झौताले सांस्कृतिक पर्यटनलाई पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ। 

अमेरिकाले यस्तै प्रकृतिका सम्झौता इटाली, ग्रीस, इजिप्ट, चीन, पेरु, कम्बोडिया, पाकिस्तान र भारतसहित ३० भन्दा बढी देशहरूसँग गरिसकेको छ। नेपालसँगको यो सहकार्यले दुवै देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । 

नेपाल सरकार र अमेरिकी अधिकारीहरूले यो सम्झौतालाई विश्वव्यापी सांस्कृतिक संरक्षण प्रयासको महत्त्वपूर्ण हिस्सा भएको बताएका छन् । यसले नेपालको धनी सांस्कृतिक विरासतलाई अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित राख्न मद्दत गर्ने विश्वास लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्