काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिस्ट घटकहरूलाई एकीकृत गरी पार्टी निर्माणमा अग्रसर रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई सुदृढ बनाउन बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए

उनले भने, ‘यो राष्ट्रको एकता, स्वाधीनता र आर्थिक समृद्धिको ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । यो कार्य एक्लाएक्लै सम्भव छैन, त्यसका लागि बृहत् राष्ट्रिय एकता आवश्यक छ । त्यही उद्देश्यले विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकहरूलाई समेटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरी हामी अगाडि बढिरहेका छौँ ।’
प्रचण्डले पछिल्लो समय सबै प्रदेश, जिल्ला र स्थानीय तहमा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी गरे । विशेषगरी जेनजी पुस्ताले नेकपालाई आफ्ना विचार र भावनाको सही प्रतिनिधित्व गर्ने पार्टीका रूपमा बुझ्न थालेको उनको भनाइ थियो । उनले भने, ‘युवाहरू नेकपामा केन्द्रित हुँदै गएका छन् । आज पार्टी प्रवेश गर्ने अधिकांश पनि युवापुस्ता नै हुनुहुन्छ । यसले देशभर सकारात्मक सन्देश प्रवाहित गरेको छ । यस अर्थमा म सबै नयाँ साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।’












