
काठमाडौं । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दैछ । आयोगले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ सुरु गर्न लागेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । त्यसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् ।
समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ हुने छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ । सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ । फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।
आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हुने छ । समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेश गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छ । समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुने छ । प्रत्यक्षमा भने निर्वाचन क्षेत्र अनुसार फरक–फरक हुने छ ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि शुरु गर्ने आयोगको तयारी छ। प्रत्यक्षमा पनि दुई करोड हाराहारीमा मतपत्र छापिनेछ। समानुपातिक र प्रत्यक्ष गरी चार करोड हाराहारीमा मतपत्र छापिने छन् ।












