Logo
Logo

कांग्रेस संस्थापन समूहले भन्यो- पार्टी फुट्न दिँदैनौं


756
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केही नेताहरुको भेलाले पार्टी विभाजित हुनबाट रोक्न प्रयासरत रहेको बताएको छ ।

केहि नेताहरु विशेषको नाममा पार्टी विभाजन गर्नतिर लागेको भन्दै आज बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले पार्टी विभाजन र विशेष महाधिवेशनलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेको हो ।

छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ । छलफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको बताए ।

‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’

उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए ।
आजको भेलामा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायत उपस्थित थिए ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ ।

प्रतिक्रिया दिनुहोस्