काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा प्रस्तावित ल्यान्डफिल साइट तथा प्रशोधन केन्द्र निर्माणको विषयलाई लिएर स्थानीय बासिन्दा र वडाध्यक्षबीच विवाद उत्पन्न भएको छ

स्थानीयहरूले झाँक्री खोलामा फोहोर प्रशोधन केन्द्र बनाउन नदिने अडान राख्दै शुक्रवार बिहान वडा कार्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेका थिए ।विरोधका क्रममा वडाध्यक्ष रामचन्द्र अधिकारी घटनास्थलमा पुगेपछि स्थिति झन् उग्र बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
उनीहरूका अनुसार, अधिकारीले खुकुरी निकालेर नचाएपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगेको छ । त्यहाँ छलफल चलिरहँदा बाहिर स्थानीयहरूले आफ्नो जीउज्यानको सुरक्षा माग्दै दबाब दिइरहेका छन् । महानगरले मङ्सिर २ गते २०८४ माघसम्म प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता गरेको थियो । तर, यसको विरोधमा बासिन्दाहरू स्वतःस्फूर्त रूपमा जम्मा भएका थिए । उनीहरूले पटक-पटक महानगर, प्रशासन र सांसदहरूसँग समस्या राखे पनि समाधान नभएको गुनासो गरेका छन् ।












