काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टी गुटको आधारमा होइन, विधानको आधारमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले पार्टीलाई गुट र कृपाबाट मुक्त गरी बीपीको विचारमा आधारित बनाउनु आवश्यक रहेको बताइन् । उनले अब पार्टीभित्र अवसरको लागि कुनै नेताको वरिपरि घुम्न नपरोस् भन्ने कामना व्यक्त गरिन् ।
“कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौं, कृपा मान्दैनौं,” उनले भनिन्। “दुई महामन्त्रीले नेतृत्व गरिरहनुभएको छ । अब कांग्रेस बीपीको विचारमा खडा भएको कांग्रेस बन्नुपर्छ ।”
भुसालले पार्टीको संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्दै सुधारिएको कांग्रेसको आशासहित विशेष महाधिवेशनमा उपस्थित भएको बताइन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित मागेको विशेष महाधिवेशनलाई संस्थापन पक्षका नेताहरूले घरघरमा गएर बुझाउन खोज्दा निराश भएको स्मरण गराइन् ।
“हामी ३० केन्द्रीय सदस्य यहाँ उपस्थित भएर ५४ प्रतिशत हस्ताक्षरलाई सम्मान गर्दै विशेष महाधिवेशनलाई शुभकामना दिन चाहन्छौं । विधानको धारा १७ (२०) अनुसार कोही नेता विधानभन्दा बाहिर जान सक्दैन भन्ने प्रतिबद्धता जनाउन यहाँ उपस्थित भएका हौं,” उनले भनिन् ।
भुसालले विशेष महाधिवेशनमा सहभागी नभएका अन्य महाधिवेशन प्रतिनिधि र नेताहरूलाई भोलिबाट सुरु हुने बन्दसत्रमा उपस्थित भई नयाँ कांग्रेसको झण्डा फर्फराउँदै जिल्ला फर्कने वातावरण बनाउन आग्रह गरिन् ।












