
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको बन्दसूची सच्याउँदै ‘खस आर्य महिला’ समूहको ४ नम्बरमा रहेकी पञ्चा सिंहको नाम हटाएको छ । पञ्चाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।
पौष १४ गते निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा समावेश पञ्चा सिंहको नाम पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पौष १८ गते बैठकको निर्णय अनुसार हटाइएको हो ।
उनले राजनीति व्यक्तिगत अवसरको विषय नभई त्याग, निष्ठा र जनसेवाको मार्ग भएको उल्लेख गर्दै पार्टीको बृहत्तर हितका लागि व्यक्तिगत पद गौण हुने बताएकी छन् । साथै आगामी निर्वाचनमा पार्टी र उम्मेदवारलाई जिताउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न समेत उनले अपिल गरेकी छन् ।












