
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा केहि बेरअघि बन्दसत्र सुरु भएको हो ।
बन्दसत्र हलमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन् । बन्दसत्रमा थापाले सांगठनिक र शर्माले राजनीति प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।
नीति र नेतृत्वबारे, समसामयिक राजनीति, पार्टीको संरचनात्मक सुधार र विविध गरी चार एजेन्डा बन्दसत्रमा छलफलका लागि पेस गरिने छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन भइरहेको हो ।












