काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन् । छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

नेता कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । उनले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए ।
ʻम पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिरहेको छु,ʼउनले भने,ʻतपाईँहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन। तपाईँहरू पनि त्यसैमा लाग्नुस्। निराश हुने कामै छैन। ʼ
छलफलमा कानुन व्यवसायीहरूले कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए। अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन नेता कोइरालालाई दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए।












