Logo
Logo

एसएसपी बढुवामा योग्य छुटे


17k
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्दा वरीयतामा रहेका छुटेका छन् भने, वरियताभन्दा बाहिर रहेकाहरू परेका छन् । सिफारिस सूचीको पहिलोदेखि चौथो नम्बरसम्म सिनियारिटी कायम रहँदा संगठनभित्र बढुवा प्रक्रिया पारदर्शी हुने संकेत देखिए पनि, पाँचौँ नम्बरबाट वरीयता मिचिएको छ ।

बरियताअनुसार रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशप्रसाद काफ्ले क्रमशः एसएसपीमा बढुवा सिफारिस भएका छन् । तर, पाँचौँ नम्बरमा रहेका अमरेन्द्रबहादुर सिंह बढुवाको सूचीमा परेका छैनन । सिनियारिटीमा अघि भएपनि सिंहलाई किन छुटाइएको भन्ने बारेमा प्रहरी प्रधानकार्यालय मौन रहेको छ । एसपी भएपछि लामो समय युएन मिसनमा पुगेका र कुनै जिल्ला कमाण्ड नगरेको कारण उनको बढुवा छुटेको आशंका गरिएको छ ।

सिंहलाई हटाएपछि छैटौँ नम्बरका श्यामसिं चौधरीलाई पाँचौँ नम्बरमा बढुवा गरियो । त्यसपछि नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा,र सुवासचन्द्र बोहरा बढुवामा परेका छन् । वरियताको १५ औ नम्बरमा रहेका दिलीप घिमिरे १३ औं नम्बरमा रहेका योगेन्द्रसिंह थापालाई बढुवा गरिदा वरीयता मिचिएको छ ।

थापा, विष्ट प्रहरी संगठनभित्र विवादित छविका अधिकृत हुन् । थापा लामो समय कर्मचारी प्रशासन शाखामा सीमित, क्षमता कमजोर, विवादित छवि बोकेका र संगठन सुधारभन्दा चलखेलमा रमाउने अधिकृतका भएको प्रहरी स्रोतले जनाएको छ ।

थापाले तल्लो तहका प्रहरी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लागेको छ । विष्ट पनि स्वयम्भूमा डिएसपीको कमाण्ड सम्हाल्दा होस कैलालीमा जिल्ला प्रहरी कार्यालय प्रमुख हुँदा दुवै समयमा विवादमा आएका अधिकृत हुन् ।

सुदुरपश्चिमका नेता र कार्यकर्ताहरुको ‘फेर’ समातेर बढुवा हुँदै आएका विष्टले यसपटक पनि बाजी मारेका छन् । बासुदेव खतिवडा, प्रजित केसीलाई बाहिर राखिएको छ । तत्कालीन गृहमन्त्री रमेश लेखको सचिवायलमा रहेका जनक भट्ट, इश्वरी जोशीलाई रिझाएर बढुवामा छिर्न खोजेका विष्ट र थापाले त्यतिबेला सकेका थिएनन् । गृह मन्त्रालयमा धाइरहेका उनीहरूले रमेश थापासँगै बढुवाको कोसिस गरेका थिए । हुनतः क्षमतामा कमजोर रहेका ऋषिराम कँडेल डिएसपीबाट एसपी बढुवामा तीन पटक छुटेका थिए ।

भुवनेश्वर तिवारी पनि दुई पटक छुटाइएका पात्र हुन् । उनीहरूको कार्यक्षमतामा प्रहरीभित्र सधै प्रश्न उठ्ने गरेको छ । तिवारी अहिले प्रहरी प्रधान कार्यालय आइजीपीको सचिवालयमा छन् । तिवारी धनुषा जिल्लाको प्रमुख हुँदा ठुलो विवादमा परेका थिए । आफ्नो सरुवा भइसकेपछि त्यतिबेला उनले जिल्लाका प्रहरी चौकीहरूमा कार्यरत २१ जना जुनियर अधिकृतको आन्तरिक सरुवा गरेर हिडेका थिए । प्रहरी सहायक निरीक्षक र नायव निरीक्षक सरुवाको यस निर्णयले उनी संगठनभित्र विवादमा तानिएका थिए ।

गत वर्षको वैशाख १५ गते एसपी तिवारीको सरुवा हुँदा उनले वैशाख १९ गते ‘प्रशासन शाखाबाट आवश्यकताअनुसार अदली–बदली’ भन्दै विभिन्न चौकीहरूमा प्रहरी अधिकृतको सरुवा गरेर पछि त्यसमा विवाद उत्पन्न भएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार धनुषाका सीमावर्ती क्षेत्रमा कार्यरत अनुभवी चौकी प्रमुखहरूलाई हटाएर आफूनिकट भनिएका अधिकृतहरूलाई तिवारीले सरुवा गरेको भेटिएको थियो । तिवारीमाथि सरुवाअगावै आफ्ना विश्वासपात्रलाई मात्रै चौकीमा राख्ने नियत देखाएको आरोप लागेको थियो ।

सीमा क्षेत्रबाट तस्करी गराएको भन्दै उनीमाथि अर्को आरोप पनि रहेको थियो । सुरेश काफ्ले पनि दाङ र बारा जस्ता दुइ शक्तिशाली जिल्लामा बसेका प्रहरी अधिकृत हुन् । दाङ र बारा दुवै जिल्लामा गोरु तस्करी रोक्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । तर पनि उनीहरुको वरियता अघि भएका कारण मिचिएको छैन ।

प्रतिक्रिया दिनुहोस्