
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
संस्थापनसँग वार्तामा रहेका उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सुनिश्चित गर्ने दाबी गरेका हुन् ।
साथै उनले विशेष महाधिवेशनले नेपाली कांग्रेसभित्रको आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने समेत विश्वास व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।’
कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरबिच वार्ता बालुवाटारमा भइरहेका बेला पौडेलले यस्तो धारणा राखेका हुन् ।
जारी विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति बनाएको थियो । विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् ।
संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।












