Logo
Logo

नरवणेको भ्रमण : सेना कूटनीति


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपालका दक्षिणी र उत्तरी छिमेकी भारत र चीनले पटक–पटक नेपालको एक इन्च पनि भूमि आफूहरुले नलिएको दाबी गरिरहँदा यही दशैं र तिहारको बीचको मौका पारेर भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।

केही महिनाअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको नेपालको भनाइ सार्वजनिक गरेपछि नयाँदिल्लीमा भएको एक कार्यक्रममा सेनापति नरवणेले ‘नेपालले उक्त काम कसैको उक्साहटमा गरेको हो’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । जसले गर्दा उनको व्यापक आलोचना भएको थियो । उनको भनाइ सार्वजनिक भएपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले भारतीय सेनाध्यक्षको भ्रमणको पूर्वसन्ध्यामा कहीँकतैबाट त्रुटि, कमजोरी नहोस् भनेर रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर स्वयं आफैँ लिनुले प्रधानमन्त्री ओली भारतीय सेनापति नरवणेको यो भ्रमणपति कति संवेदनशील छन् भन्ने दर्शाउँछ । तत्कालीन रक्षामन्त्री पोखरेलको नेपाली सेनासँग बढेको खटपटका साथै उनी भारतविरोधी भएका कारण उनलाई रक्षाबाट हटाइएको हो । भारतीय सेनाध्यक्षको यो भ्रमण नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाका लागि चुनौती र अवसर दुवै हो । हेरौं, ट्रयाकबाट बाहिर गएको नेपाल–भारत सम्बन्धलाई पुरानै लयमा ल्याउन सेनापति थापा कत्तिको समर्थ हुन्छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसँगको सीमा विवादमा सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै एक विज्ञप्तिमा भनेको छ, ‘सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ । हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय हो । झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ ।’

यस्तो गम्भीर परिस्थितिमा भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण अत्यन्त महत्वपूर्ण कुरा हो । दुबै छिमेकीहरू आफ्नो सुरक्षाप्रति अत्यन्त संवेदनशील रहने गरेका छन् । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) हुने परम्पराअनुसार नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) को दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको बताइन्छ । नरवणेको यो भ्रमण नक्सा विवादपछि चिसो रहेको नेपाल–भारत सम्बन्ध सुधारको लागि नेपाल सरकारको पहलमा हुन लागेको कुरा कहीँकतैबाट लुकेको छैन । सेना प्रमुखको पदभार सम्हालेलगत्तै एकअर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने सन् १९५० देखिकै पुरानो प्रचलनको निरन्तरता हो ।

भारतीय सेनालगायत भारतका अन्य सुरक्षा निकायहरूमा लगभग एक लाखको हाराहारीमा नेपाली कार्यरत रहेको कुरा बताइन्छ । त्यसकारण नेपाल–भारत सम्बन्धमा दुवै देशका सेनाबीचको सम्बन्ध जहिल्यै पनि उच्च महत्वमा पर्दछ । संविधान जारी भएपछि भारतले ६ असोज २०७२ बाट लगाएको नाकाबन्दी हट्नुमा पनि नेपाली सेनाको भूमिका महत्वपूर्ण थियो भनिन्छ । अहिलेको जस्तै राजनीतिक र कूटनीति तहमा संवादहीनता रहेका बेला तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीले समकक्षी भारतीय सेनाध्यक्ष दलवीर सिंहसँग निरन्तर संवाद गरेको कुरा मिडियामा आएको थियो ।

अनौपचारिक कुराकानीमा गोरखा राइफल्सका पूर्वकमाण्डर रहेका भारतीय सेनापति सिंहले नेपालको नाकाबन्दीप्रति असन्तुष्टि जनाएका थिए । त्यसपछि क्षेत्रीले आफ्ना दूतका रुपमा जंगीअड्डाका युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाको नेतृत्वमा महासेनानी अनुपजंग थापा (हाल सहायक रथी)लगायत सम्मिलित गोप्य टोली नयाँदिल्ली पठाएका थिए । टोलीले गरेको छलफलपछि दिल्लीले सेनापति क्षेत्रीलाई भारत भ्रमणका लागि निम्तो दिएको थियो । भारत गएर क्षेत्रीले तत्कालीन रक्षामन्त्री निर्मला सीतारमण, गृहमन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गरेका थिए ।

त्यसक्रममा सीतारमण र डोभाल नाकाबन्दी हटाउने पक्षमा नदेखिएको सेनापति क्षेत्रीसँग भारत गएका टोलीका सदस्यहरु बताउँछन् । पछि तत्कालीन भारतीय सेनाध्यक्ष सिंह आफैंले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाकाबन्दी हटाउने विषयमा कन्भिन्स गराएको सैनिक स्रोतको भनाइ छ ।

स्रोतका अनुसार हाल रक्षामन्त्री रहेका सिंहले नेपाली टोलीसँग भेटवार्ताकै बीच सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीलाई फोन गरेर दशगजा क्षेत्रमा ‘क्लियर’ गर्न निर्देशन दिएका थिए । त्यसपछि दुई देशबीच राजनीतिक संवादको बाटो पनि खुलेको थियो भने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिइएको थियो ।

प्रधानमन्त्री ओलीले भारतीय सेनाध्यक्षको भ्रमणमा पूर्वसन्ध्यामा कहीँकतैबाट त्रुटि, कमजोरी नहोस् भनेर रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर स्वयं आफैँ लिनुले प्रधानमन्त्री ओली भारतीय सेनापति नरवणेको यो भ्रमणपति कति संवेदनशील छन् भन्ने दर्शाउँछ । तत्कालीन रक्षामन्त्री पोखरेलको नेपाली सेनासँग बढेको खटपटका साथै उनी भारतविरोधी भएका कारण उनलाई रक्षाबाट हटाइएको हो । भारतीय सेनाध्यक्षको यो भ्रमण नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाका लागि चुनौती र अवसर दुवै हो । हेरौं, ट्रयाकबाट बाहिर गएको नेपाल–भारत सम्बन्धलाई पुरानै लयमा ल्याउन उनी कत्तिको समर्थ हुन्छन् ।

Twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्