Logo
Logo

प्रचण्डलाई बाँस्कोटाले फसाए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ माघ।
दक्षिण अमेरिकी देश भेनेजुएलामा राजनीतिक संकट चर्किदो छ । सो प्रकरणले नेपालीको राजनीतिमा समेत तरंग ल्याएको छ ।


खासगरी नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै बिज्ञप्ती निकालेपछि विवाद बढेको हो । नेपालको तटस्थ कुटनीतिविपरीत प्रचण्डको सो बिज्ञप्तीले निकै चर्चा पायो । पार्टीभित्र समेत राम्रोसँग छलफल नभएकाले त्यसको आलोचना पनि भयो । अहिले बिज्ञप्तीप्रति प्रचण्ड आफैंले गल्ती महशुस गरेका छन् । त्यसमा आफूलाई केही नेताले फसाएको बताउन थालेका छन् ।
प्रचण्डको बिज्ञवीतमा भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो।

वक्तव्य दिने विषयसँग वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य बलराम बास्कोटाबीच पनि छलफल भएको थियो ।
गत शुक्रबार बिहानै वरिष्ठ नेता नेपालले दाहाललाई टेलिफोन गरेर बलराम बास्कोटा खुमलटार आउँदै छन् भनी नाम टिपाएका थिए। दाहाल पनि ज्वरो आएर आराम गरिरहेका थिए। बास्कोटा एक सहयोगीका साथ खुमलटार पुगेर आफूसँगै लगेको ल्यापटपबाट वक्तव्यको ‘ड्राफ्ट’ पेनड्राइभमा छोडेर निस्केका थिए।
त्यसपछि दाहालले नेपालसँग छलफल गरेर वक्तव्यलाई अन्तिम रूप दिएका थिए। प्रधानमन्त्री ओली त्यसबेला स्वीजरल्यान्डको डावोसमा थिए। पार्टी एकतापछि चाडपर्वमा बाहेक आन्तरिक सर्कुलरदेखि अन्य सबै मामिलामा दुवै अध्यक्षको संयुक्त हस्ताक्षरमा मात्र वक्तव्य आउने गरेका थिए।
तर २४ घण्टापछि स्वदेश आइपुगैन अर्का अध्यक्षलाई नपर्खी दाहालले भेनेजुएलाबारे हतारमा वक्तव्य दिए। केही नेताले दाहालको वक्तव्यको भाषा फेरिएको बताइरहेका छन्।
स्रोतका अनुसार यसमा नेकपा केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रियसभा सदस्य बलराम बास्कोटाको भूमिका छ । पुस २३ गते भेनेजुएला गएका थिए। पुस २६ (जनवरी १० तारिख) मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको शपथग्रहण कार्यक्रम थियो। बास्कोटा त्यसैमा सहभागी भए। ७२ देशका सरकारी र कम्युनिस्ट पार्टीका प्रतिनिधि त्यहाँ पुगेका थिए।

स्वदेश फर्केपछि बास्कोटाले भेनेजुएलाको राजनीतिक संकट र विकसित घटनाक्रमबारे वरिष्ठ नेता नेपाल, वामदेव गौतमलगायतसँग छलफल गरे। त्यसपछि यसबारे वक्तव्य दिनुपर्ने भन्दै नेताहरूले कन्भिन्स गरेपछि दाहालको वक्तव्य आएको हो । बाँस्कोटा वामदेव निकट नेता हुन् । उनले नै आफूलाई फसाएको प्रचण्डले बताएका छन् ।
तर, यती गम्भीर विषयमा विस्तृत छलफल नगरी बिज्ञप्ती जारी गर्नुले प्रचण्डको समेत यसमा कमजोरी देखिन्छ । जसले देशको सिंगो कुटनीतिक क्षेत्रकै बेइज्जती भएको छ ।

प्रतिक्रिया दिनुहोस्