Logo
Logo

स्वाभिमान बोलेपछि…


756
Shares

जापान छोड्ने बेला भइ नै सकेको थियो । छोड्ने अघिल्लो दिनको कुरा– मेरा मित्रहरूले एकजना धनाढ्य र दानी मानिएका एकजना मानिससँग मलाई भेटाउने योजना बुनेछन् । ती मानिस स्थानीय रूपमा निकै नाम चलेका ‘भिआइपी’ रहेछन् भन्ने कुरा मैले बुझें ।

केही देशका अस्पतालहरुलाई सहयोग गर्ने गरेको कुरा पनि रहेछ । सरोज र उनका मित्रहरुले काठमाडौंमा बनाउन लागेको स्वास्थ्य सेवा केन्द्र र नयाँ अस्पताल (काठ्माण्डू मोडेल अस्पतालको) निम्ति भनेजस्तो सहयोग गर्नसक्ने क्षमता उनमा देखेर पनि होला साथीहरूले उनीसँग भेटाउन विशेष मिहिनेत गरेका । कोबेकै सान्दा सिटीमा अवस्थित एउटा अस्पतालमा लिएर जाँदै थिए साथीहरु ।

दुईटा कार गुडिरहेका थिए । मेरो काम सफल होस् भनेर कामना गरिरहेका थिए साथीहरू । मसँग मैले चिनेको दुई जना साथीबाहेक त्यहाँकै स्थानीय सरकारका विभिन्न पदमा कामगरिरहेका अफिसरहरू पनि थिए । ती सबैलाई म चिन्दिनथिएँ । बाटोमा परिचय भयो ।

अहिले त कसैको पनि नाम सम्झिन सक्तिन । मैले चिनेकी साथी इशुजुका औपचारिक दोभाषे भइसकेकी थिइन् । अर्को पाको मित्र ताजी सान् थिए । मैले भन्दा मेरा मित्रहरुले त्यो दिनलाई विशेष मह्त्व दिएका थिए ।

गन्तव्यमा पुगेपछि त्यो ‘ठुलो’ मान्छेसँग कसरी कुरागर्नु पर्छ भनेर होमवर्क पनि गर्न भ्याइसकेका रहेछन् । मलाई भने कुनै एकजना मान्छे भेट्न जाँदैछु भन्नेसम्म मात्रै थाहा थियो । अरु धेरै आशा र उत्साह पनि थिएन । बरु मनमा अझै आफ्नै बुढाको चिठीको धङधङी बाँकी थियो र छिटो भन्दा छिटो शाङ्हाई पुग्न पाए हुने जस्तो भइरहेको थियो ।

बाटोमा गुड्दा गुड्दैको अगाडिको गाडी एक्कासि रोकियो । हामी बसेको गाडी पनि रोकियो । अगाडिको कारबाट एकजना नेता जस्तो लाग्ने मान्छे ओर्लेर मलाई मानसिक रुपमा तयार हुनको निम्ति सचेत गराउन खोजेका रहेछन् ।

‘… ती मान्छे अलि सनकी जस्ता पनि छन् । उनी खुसी भए तिमीले भनेको सबै काम बन्छ । उनले ‘नो’ भनेपछि भने कसैको केही लाग्दैन…।’ उनका कुरा सुनेँ मात्र । मैले धेरै ठुलो आशा बोकेको पनि थिइन । मैले ’हस्’ भनेर छोटो उत्तर दिएँ ।

आखिर एउटा ठुलो अस्पताल अगाडि दुइटै गाडी रोकिए । हामी ओर्लियौं । हस्पिटलमा पस्न सबैले आफ्नो जुत्ता फुकाल्नु पर्ने रहेछ । त्यहाँ सफा चप्पलहरु टन्न राखिएका थिए । तिनै चप्पल लगाएर हामी सबै भित्र पस्यौं । ठुलो मिटिङ हल रहेछ र त्यसलाई सुहाउने ठुलो अण्डाकार टेबुल रहेछ । मलाई बस्न भनेको ठाउँमा बसें । एकछिन पर्खिनु प¥यो मूल मान्छे भेट्न । समयको धेरै चेत भएको देश हो जापान, तर पनि ती ‘ठूला’ मान्छे भेट्न हामीसँगका ‘भिआइपी’ हरुले पनि पर्खिनु प¥यो ।

उहिल्यै शाङ्घाईमा हेरेको एउटा टिभी सिरयल ‘अन्तिम बादशाह’ सम्झिएँ । जापानका अन्तिम बादशाहलाई दोस्रो विश्वयुद्ध तिर जापानीहरूले मन्चु सम्राट बनाएका थिए । जापानी राजदूतले ती मन्चु सम्राटलाई पर्खाएको दृश्य सम्झेर मनमनै हाँसेँ ।

मेरी साथीले कानमा खुसुक्क भनिन्– ‘धेरै बिजी जस्तो छ त्यो मान्छे । बल्ल बल्ल धेरै तहका मान्छेहरु मिलेर समय मिलाएको हो । तिमी भोली नै फर्कदैछ्यौ भनेर…’ । ‘ए…,यहाँ त म पनि भिआइपी नै भएछु’ भन्ने लाग्यो ।

एकछिनमा दायाँ बायाँ सहयोगीहरु लिएर ती ठुला मान्छे त्यो ठुलो हलमा देखापरे । सबैले टाउको निहु¥यार्एर अभिवादन गरे । मैलेपनि अरुको सिको गर्दै अभिवादन गरेँ । त्यो माहौलमा म सानो मान्छे त त्यसै हराए जस्तो लाग्यो । ‘मलाई भेट्न खोज्ने मान्छे को हो, खोई ?’

भनेर जापानी भाषामा सोधेछन् । साथीहरुले मलाई देखाएर सानो परिचय पनि दिएछन् । कुराकानी ममा केन्द्रित भएको बुझेर म फेरि उठेर अभिवादन टक्र्याएँ विनम्र भएर । ‘ऊ डाक्टर हो ?’ भनेर सोधे । मेरी साथीले ऊ त होइन उसको श्रीमान डाक्टर हो । उनले नयाँ अस्पताल बनाउन खोजिरहेका छन् नेपालमा भनेर जवाफ दिइन् ।

‘ए !’ भनेर टाउको हल्लाउँदै जुरुक्क उठेर भने– ‘मलाई अहिले कुरा गर्ने फुर्सद छैन । नेपालीसँग कुरा गर्ने इच्छा पनि छैन । धेरै मान्छे आउँछन् सहयोग चाहियो भनेर । नेपालीहरु कुरा गर्छन् तर काम भने गर्दैनन् । यस्तो मान्छे धैरै भेटिसकेको छु , म पनि नेपाल पुगेर हेरेर आइसकेको छु…।’

सुरुमै यो कुरा सुनेर मलाई सहयोग पु¥याउन जाने सबैको अनुहार कालो नीलो भएको मैले चाल पाएँ । यहाँ त मेरो अपमान भईरहेछ , मेरो देशकै बेइज्जति भईरहेछ भन्ने कुरा बुझ्न केही गाह्रो भएन मलाई । तर मलाई चित्त पनि दुखेन । सबैको निरासिएको अनुहार हेरे पछि भने मनमा आयो– ’तुरुन्तै त्यहाँ केही जवाफ त दिनै पर्छ’ भन्ने लाग्यो । म पनि जुरुक्क उठेर टेबुलमा मेरो हत्केलाले हल्का पिटेर सबैको ध्यान तानें । जापानी त आउँदैन थ्यो । म अंग्रेजीमा केही भन्न सक्छु भनेर उनकै आँखा हेरेर सोधें ।

मेरो त्यो आवाजले अलि छक्क पर्दै उनले ‘हुन्छ’ भनेर अनुमति दिए । मैले भनेँ ‘… म यहाँ माग्न आएको होइन । म डाक्टर त होइन, तर माग्ने पनि होइन । एकजना लेखक हुँ । लेखक कै नाताले र साथीहरुको मायाले जापान घुम्ने मौका पाएकी हुँ । मेरा साथीहरुले मलाई तपाईँकहाँ ल्याएका हुन् – म आफै आएको पनि होइन ।

‘… होला, तपाईँले भेटेका केही नेपाली माग्नै पनि आएका होलान् । तर तपाईँको सहयोग गर्ने विचार छैन भने नगर्नोस् न ! मेरो चित्त दुख्दैन । मान्छेले सकेको सहयोग मात्रै गर्ने त हो नि ! तर कसैलाई माग्नेचाहिँ नभन्नुस् …’ । यति भनेपछि तुरुन्तै त्यहाँको माहौल १८० डिग्री परिवर्तन भयो ।

उनले जापानीमा भने – ‘यो अर्कै खालकी मान्छे रहिछ ! यसलाई म सहयोग गर्छु !’ यी शब्दहरुले मेरा साथीहरु सबैको अनुहार फेरि उज्यालो भयो । मैले प्रस्टै देखेँ – उनकै मन पनि उज्यालो भएको । मान्छे त वास्तवमा दानी नै रहेछ । उनले मलाई “अर्कोपाली डाक्टरलाई पनि जापानमा पठाएर मसँगै प्रत्यक्ष कुरा गर्न लगाउनु“ भने । अनि पुरै अस्पताल घुमाएर तिमीलाई के के चाहिन्छ ? भनेर सोधे।

कसैले नसोचेको कुरा त्यही सहरको एउटा राम्रो रेष्टोराँमा हाम्रो ग्रुपलाई नै लञ्च खुवाउनका निम्ति बन्दोबस्त गर्न आफ्ना सहयोगीहरुलाई अर्डर गरे । उनी आफै होस्ट भएर सबैलाई जापानी परम्परागत दिवाभोज गराए । स्थानीय पत्रकारहरुलाई पनि तुरुन्तै बोलाएर लेख्न लगाए । म गमिरहेँ छिनको छिनमा मान्छेको मन परिवर्तन हुँदोरहेछ !

प्रतिक्रिया दिनुहोस्