Logo
Logo

यतीसम्म गर्छन् काठमाडौंका घरबेटी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ माघ।
काठमाडौंमा घरबेटीहरुको दादागिरी कतिसम्म छ भन्ने कुरा हालै काठमाडौं– ५ धन्वन्तरी मार्गमा देखिएको छ । एक घरधनीले तत्काल आफ्नो सटर खाली गर्न भन्दै पानी र बिजुली मात्र रोकिदिएनन्, पसलको अगाडि बालुवाको थुप्रोसमेत जम्मा गरिदिएका छन् ।


चितवनका भरतबहादुर अधिकारी यसरी घरबेटीबाट पीडित बनेका हुन् । उनी विगत सात वर्षदेखि गणेश प्रसाद खरालको घरमा पसल सञ्चालन गर्दै आएका छन् । भरत गुड्स सप्लायर्स नामक उनको पसल छ ।
पसल राम्रोसँग चल्दै आएको थियो । त्यही कारण घरबेटी अन्य केही छिमेकी अधिकारीविरुद्ध लागे । नजिककै पसलधनीहरु समेत मिलेर उनको पसल हटाउने अभियान सुरु गरे ।
सोही अनुसार सुरुमा उनलाई बिजुली र पानीको लाइन काटियो । उनले नियमित रुपमा मासिक १३ हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । उनले धेरै सामान भएकाले अन्यत्र सटर नपाइञ्जेलका लागि केही महिना हेरिदिन आग्रह गरे । तर, घरबेटी खराल घर खाली गरिपाउँ भन्ने निवेदन दिएर काठमाडौं महानगरपालिका गए । महानगरपालिकाले एकपक्षीय रुपमा कुरा सुनेर घर खाली गराउने निर्णय ग¥यो । त्यसका लागि पुनरावेदनको म्याद समेत नदिई निर्णय कार्यान्वायनका लागि भनेर पत्राचार भयो ।
उनले सटर छाड्ने तर पसलका सामान राख्ने समय नभएकाले समय दिन आग्रह गरे । तर, घरबेटीले उनको पसलको अगाडि बालुवा थुपारिदिएका छन् । जसकारण पसल बन्द हुन पुगेको छ ।
आफूलाई सूचना नदिई पसल छाड्न लगाएको भन्दै अदालत र महानगरपालिकामा उनले निवेदन दिएका छन् । ‘यस्ता घरबेटी अहिलेसम्म देखिएको थिएन,’ एक छिमेकी भन्छन्,‘भाडा तिरिरहेको अवस्थामा अरुलाई व्यवसाय नै गर्न नदिई बालुवा थुपारिदिनु अचम्म लाग्दो छ ।’
यो प्रकरणमा काठमाडौं महानगरपालिकाकी उपमेयर प्रभा खड्गी समेत विवादमा परेकी छिन् । पुनरावेदनको समय नै नदिई कार्यान्वायनका लागि पत्र लेखिएकोमा महानगर पनि विवादमा परेको हो ।
व्यवसाय गर्न नदिएर आफूलाई अन्याय गरेको भन्दै अधिकारीले प्रहरीमा समेत निवेदन दिएका छन् । तर, प्रहरीले पनि चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्