म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले झन्डै एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलवार समिर र यास्मिनलाई उनकी आमा मनिरजा बेगमको नामबाट नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्तिका लागि समिरले ११ वर्षअघि र यास्मिनले आठ वर्षअघि जिल्ला प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरी आवेदन दिएका थिए । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन कार्यान्वयनमा आएपछि उनीहरूलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए ।
समिर र यास्मिनकी आमा मनिरजा बेगम नेपाली नागरिक हुनुहुन्छ भने उनका श्रीमान् सलिम खान भारतको कोलकत्ताका हुन् । करिब ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा लामो समयदेखि शृङ्गार व्यवसाय सञ्चालन गर्दै आएकी छन्। सलिम खानले भारतको नागरिकता त्यागिसकेको र २०५२ तथा २०६४ सालमा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताए।
समिर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता रहेको छ। दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाउँदा पेसा–व्यवसाय गर्न, जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता पाएपछि बल्ल आफूहरू राज्यका नागरिक भएको अनुभूति भएको उनीहरूको प्रतिक्रिया छ।
नेपाल नागरिकता चौथो संशोधन नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएसँगै नागरिकता ऐन, २०६३ को व्यवस्था व्यवहारमा कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।











