काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हरेक निर्वाचनअघि विरोधीहरूले ‘एमाले सिद्धियो’भन्दै हल्ला फैलाउने गरे पनि निर्वाचनपछि भने एमाले नै निर्णायक शक्ति बन्दै सरकार गठन गर्ने हैसियतमा पुग्ने गरेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध घेराबन्दी र समाप्त पार्ने प्रयास इतिहासदेखि नै हुँदै आएको उल्लेख गरे । तर यस्ता चुनौतीहरूलाई चिर्दै एमाले सधैँ माथि उठ्ने गरेको उनको दाबी छ । उनले भने, ‘विरोधीहरूले सधैँ एमालेलाई समाप्त पार्ने सपना देख्छन् । चुनावअघि ‘एमाले सिद्धियो, अब छैन’ भन्छन् । तर परिणाम आउँदा सरकार बनाउने र देश हाँक्ने ठाउँमा एमाले नै पुग्छ । चुनावअघि एमाले सिद्धिन्छ भन्ने, चुनावपछि भने सरकार बनाउँछ ।’
ओलीले एमालेको सङ्घर्षलाई पौराणिक कथाहरूसँग तुलना गर्दै भने, ‘राम्रो काम गर्नेहरूलाई सधैँ खेदो खनिन्छ । रामलाई १४ वर्ष वनवास पठाइयो, पाण्डवहरूलाई लाखागृहमा जलाउन खोजियो र वनवासमा लखेटियो । एमालेलाई पनि इतिहासदेखि नै सिध्याउने प्रयास भइरहेको छ, तर हामी खरानीबाटै फेरि उठ्छौँ र देश निर्माणको अभियानमा लाग्छौँ ।’
अन्य दलहरूसँग स्पष्ट गन्तव्य नभएको तर एमालेसँग भने ‘समृद्ध नेपाल, सुखी नेपालीु को मार्गचित्र रहेको उनको भनाइ छ । ‘अरू पार्टीहरू ट्रेडमिलमा दौडिएजस्तै हुन्- जति कुदे पनि कतै पुग्दैनन्। तर एमाले गन्तव्य तय गरेर हिँडेको यात्री हो। त्यसैले हामी सरकारमा हुँदा होस् वा नहुँदा, सधैँ देशकै पक्षमा रहन्छौँ,’ओलीले भने ।











