काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले लामो समयदेखि लागि परेको बताएका छन् ।

विराटनगरमा युवाहरूसँग अन्तरक्रिया गर्दै कोइरालाले जेनजी आन्दोलन अघिदेखि पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गर्दै आएको बताएका हुन् ।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’को अभियानमा लागेको बताए । कोइरालाले भने, ‘युवाको माग र मुद्दामा मैले केही कञ्जुस्याइँ गरिनँ ।’
जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै कोइरालाले भने, ‘मैले विगतमै युवालाई तीन क्लष्टरमा बाडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो ।’
युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौँ महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए ।











