काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएका बालेन्द्र शाह (बालेन) अहिले देश दौडाहामा व्यस्त छन् ।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले माघ ४ गते महानगरको पदबाट राजीनामा दिएपछि उनको चुनावी यात्रा झापा ५ बाट प्रारम्भ भएको हो । त्यसो त बालेन झापा ५ बाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि दौडधुपमा व्यस्त रहेका बालेन सोमबार चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका छन् ।
यसअघि ताप्लेजुङ, धनकुटा, धरान, संखुवासभा, इलामलगायत जिल्लामा उनी पुगिसकेका छन् । सोमबार चुनाव प्रचारका लागि नेपालगञ्ज पुगेका बालेनलाई हेर्न विमानस्थलमा सयौँको संख्यामा समर्थकहरू जम्मा भएका थिए ।
एयरपोर्टबाट कारको रुफटपबाट सबैलाई हात हल्लाएका थिए । बालेनसँग सेल्फी र फोटो खिच्नेहरुको भीड थियो । छतबाट बालेनलाई हेर्ने स्थानीयहरुको पनि उत्तिकै संख्या थियो ।












