Logo
Logo

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा लामो छलफल


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा लामो वार्ता भएको छ ।

भेटमा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने विषयमा छलफल भएको जनाइएको छ ।  एमाले अध्यक्ष ओलीले निर्वाचनको सुरक्षा वातावरण अझै पूर्ण रूपमा तयार नभएको र चुनौतीहरू यथावत् रहेको बताउँदै आएका छन् । 

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षाका लागि बुधवारदेखि नै ८० हजार नेपाली सेना खटाइसकिएको उल्लेख गर्दै अब कुनै कमजोरी नहुने र मतदाता, उम्मेदवार तथा कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनपछि सरकारमा आएकी हुन् भने ओली त्यसअघि प्रधानमन्त्रीबाट बाहिरिएका थिए । लामो समयदेखि संवादहीनता रहे पनि पछिल्लो समय दुवै पक्षबीच विश्वासको वातावरण बनाउने प्रयास जारी छ । 

यसअघि पनि उनीहरूबीच तीन चरणको वार्ता भइसकेको छ ।बिहीबार बिहान साढे १० बजे बालुवाटार पुगेका ओली करिब दुई घण्टाको छलफलपछि बाहिरिएका थिए ।

राजनीतिक दलहरूले चुनावी अभियान तीव्र पारिरहेका छन्, तर प्रमुख दलहरू कांग्रेस र एमाले अझै पूर्ण रूपमा सक्रिय भएको देखिँदैन । एमाले र नेकपा दुवैले निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान राख्दै आएका छन् । तर निर्वाचन आयोगसँगको छलफलमा एमाले पक्षले मौसमका कारण फागुन २१ मा देशभर एकसाथ निर्वाचन गर्न कठिनाइ हुन सक्ने र आवश्यक परे मितिमा केही लचकता अपनाउन सकिने धारणा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्