Logo
Logo

बालेनका सल्लाहकारले टिकट पाएपछि असन्तुष्ट रास्वपा नेताले पार्टी छाडे


819
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् ।

पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको उनले बताएका छन् । रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन् ।

उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ ।

रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ ।

हिजो मात्रै रास्वपाका नेता प्रणयशमशेर राणाले पनि पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका थिए ।

रास्वपाबाट काठमाडौं–५ मा अघिल्लोपटक उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएको हुँदा शुल्क फिर्ता गर्न माग गरेका थिए ।

पार्टीले प्रारम्भिक मतदानको विधि लत्याएको उल्लेख गर्दै भिडियोमार्फत राणाले आपत्ति जनाएका थिए । रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकका लागि प्रति व्यक्ति २५ हजार र समानुपातिकमा समावेश गर्ने भन्दै ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्