Logo
Logo

एक चीन नीतिको उल्टो बाटोमा सरकार


819
Shares

काठमाडौं । जेनजी विद्रोहले दुवै छिमेकीलाई झस्काएको बेला सरकारले उत्तरतिरको छिमेकीलाई चिढ्याउने काम गरिरहेको छ । धर्म गुरुको नाममा आएका फ्रि तिब्बत पक्षधरको संरक्षण गरेकोले चिनियाँ पक्ष चिढिएको हो ।

नेपाल भूराजनीतिक रूपमा संवेदनशील स्थानमा रहेको मुलुक भएकाले चीन, भारतजस्ता छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नु नेपालको हितमा भए पनि एक चीन नीति अवलम्बन गरेको नेपाल सरकारले चीनलाई चिढ्याउनुले दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ । यही कारण ‘फ्रि तिब्बत’ जस्ता अन्तर्राष्ट्रिय रूपमा विवादित मुद्दामा नेपालले तटस्थ र सावधान नीति अपनाउनुपर्नेमा तिब्बती धर्मगुरुको प्रवेशलाई सरकारले साथ दिएपछि चीनको असन्तुष्टि रहँदै आएको छ ।

गत जनवरी २९ मा धर्मगुरु दलाई लामाको प्रतिनिधि रिम्पोछे काठमाडौं आएको विषय पनि चिनिया पक्षले चासो लिएको छ । र उनलाई विमानस्थलदेखि राजकीय सम्मान दिएको विषयमा यहाँ राजनीतिक दलका नेताहरुले पनि चासो दिएका छन् ।

एमालेका उपाध्यक्ष राबहादुर थापा र नेकपाका वरिष्ठ नेता झलनाथ खनाल दुवैले यो धर्म गुरु रिन्पोछेलाई राजकीय सम्मान दिएकोमा आपत्ति जनाएका छन् । नेपाल सरकारले नै चीन विरोधीलाई, पृथक्तावादी तिब्बतीलाई संरक्षण दिइरहेको भन्ने गुनासो राजदूतावासले गरेको छ ।

तिब्बती मूलका बौद्ध धर्मगुरु क्याब्जे जोनाङ ग्याल्त्साब रिम्पोछे एउटा प्रवचनका लागि दलाई लामाको प्रतिनिधि बनेर काठमाडौं आएका छन् । उनी अझै केही दिन नेपालमै बस्छन् । रिम्पोछे अहिले काठमाडौंको बौद्धमा आयोजित धार्मिक प्रवचनमा सहभागी छन्। उनी काठमाडौं आएसँगै सरकार विवादमा तानिएको छ। नयाँ दिल्लीबाट एअर इण्डियाको उडान नम्बर एआई २१९ मा काठमाडौं आएका उनी बौद्ध तीनचुलीस्थित शेर्पिनी होटलमा बसेका छन् ।

आरुबारीस्थित डोल्पो समाज नामक गैरसरकारी संस्थाका अध्यक्ष टासी फोन्चो गुरुङको निमन्त्रणामा रिम्पोछे आएका हुन् । उनी माघ १८ (फ्रेबुअरी १) देखि आयोजित १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी हुँदै आएका छन् ।

तिब्बती बौद्ध दर्शनको अध्यापन हुने जोनाङ विद्यालयका प्रमुख रिम्पोछेको काठमाडौं आगमनलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक माध्यमबाट असन्तुष्टि जनाएको भनिए पनि यो विषयमा गृह मन्त्रालय र सम्बद्ध अन्य सरकरी निकायले अनभिज्ञता प्रकट गरेका छन् ।

स्रोतका अनुसार रिम्पोछेको स्वागतमा सरकारी अधिकारीहरु पनि सहभागी थिए । जेनजी आन्दोलनमा तिब्बतीहरूको सहयोग रहेको चर्चा हुने गरेको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई धर्मगुरु दलाई लामाले बधाई दिएका थिए । उनले यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीलाई बधाईं दिएका थिएनन् । उनकै सबैभन्दा निकट र विश्वासपात्र रहेका रिम्पोछे काठमाडौं आएपछि अहिलेको अवस्थामा चीन सरकारले आपत्ति जनाएको बताइन्छ ।

चीनले आपत्ति जनाउनु योमात्र विषयमा सीमित छैन । सरकारले यसैबीच बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा कार्यरत चिनियाँ लामा रिन्पोछे भूपतिबज्र लामालाई बर्खास्त गरेको छ । उनलाई विभिन्न आरोप लगाएर बर्खास्त गरेको भएपनि उनी चिनिया पक्षका थिए । तिब्बतीहरुको दबाबमा उनलाई यो सरकारले हटाएको आरोप पनि लागेको छ । माघ ९ गते संस्थानको सञ्चालक समिति बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्