काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेललाई दाङको निर्वाचन क्षेत्रमा संकट उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी पोखरेलको पक्षमा पुराना एमालेका नेताहरुले खुलेर मत माग्ने अवस्था नबनेको र युवा नेताहरुपनि एमालेका महासचिवलाई बोकेर मतदातासमक्ष जान नसकेको अवस्थामा पोखरेललाई संकट उत्पन्न भएको बताइन्छ ।

एमाले महाधिवेशनमा महासचिव पदका लागि उम्मेदवार बनेका शंकर पोखरेल हार्ने भएपछि मतदानको समय अध्यक्ष ओली आफैँले मत मागेर जिताएका थिए । शंकरप्रतिको यो आशक्तिले उनी कति कमजोर छन् भन्ने बुझिन्छ । अहिले शंकर पोखरेल कमजोर बनेपछि एमालेमा रुवावासी चलेको छ । शंकरलाई जसरी भए पनि जिताउन नेकपा वा अन्य दलसँग गठनबन्ध गर्न ओलीले हरसम्भव प्रयास गरिरेहको बताइन्छ ।
ओली आफूलाई झापा ५ मा सहज नहुँदा पनि शंकर पोखरेलका लागि गठबन्धनमा लागिरहेका छन् । यसपटक सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई टिकट नदिएर उनले पोखरेललाई संसदमा छिराउने र एमालेको भावी नेतृत्वको रुपमा स्थापित गर्ने मुख्य उदेश्य राखेका छन् । जित निश्चित भएका सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा र योगेश भट्टराईलाई टिकट नदिएपछि पोखरेललाई सुरक्षित रुपमा संसदमा ल्याउदा विष्णु पौडेलका लागि पनि काउण्टर दिने नीति लिइएको देखिन्छ ।
२०७४ को निर्वाचनबाट प्रदेशसभामा निर्वाचित एमाले महासचिव शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको ओहदा दिलायो तर, संघमा उनको उपस्थिति कमजोर बनेपछि प्रदेश छाडेर संघतिर लागे । त्यसो त, शंकर त्यो बेला दाङ २ बाट संघीय संसदमा प्रवेश चाहन्थे । तर माओवादीसंगको एमाले चुनावी तालमेलका कारण शंकरको संघीय सांसद बन्ने दौडमाथि माओवादीका कृष्णबहादुर महरा ‘ब्रेक’ लगाए । २०७९ को निर्वाचनमा शंकर दाङ २ बाट संघीय सांसद बन्ने बाटो खुला बन्यो ।
२०७४ को निर्वाचनमा प्राप्त आफ्नो जनमतलाई सुरक्षित पारेर पुनः विजयी बन्ने दाउमा लागेपनि यसपटक रास्वपाका कारण उनी सुरक्षित छैनन । आफू सुरक्षित नहुने भएपछि पार्टी अध्यक्ष ओलीसँग गठनबन्धनको पहलकद्मीका लागि आग्रह गरेको स्रोतको दाबी छ ।
२०७४ मा आफ्नो दलसंग चुनावी तालमेल गरेको माओवादी यो बेला कांग्रेससंग चुनावी साँठगाँठमा जोडियो । यो गठबन्धन शंकरका लागि महंगो सावित बन्यो, पोखरेल पराजयको शिकार बन्न पुगे । तत्कालीन कांग्रेस माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी रेखा शर्मासँगको झिनो १ सय ९३ मतान्तरमा हार ब्यहोरेका शंकर आफ्नो हार बिर्साउने योजना मुताबिक अहिले पुनः चुनावी मैदानमा छन् ।
यो क्षेत्रबाट उम्मेदवार बनेका पुराना नेता मध्यका शंकर पुरानो मतलाई सुरक्षित राख्ने दाउमा छन् । पुरानो मतलाई पुनः सुरक्षित राख्न सके सहज जीत निकाल्न सकिनेमा उनी विश्वस्त देखिन्छ । तर पछिल्लो जेनजी आन्दोलन र ओलीको कट्टर समर्थक रहेका कारण शंकरलाई असहज उत्पन्न भएको हो ।
दुई दलीय गठबन्धन हुँदा समेत १ सय ९३ मतान्तरको मात्रै हार ब्यहोरेका शंकरका लागि अहिलेको चुनावी भिडन्त सहज आँकलन हुँदा पनि असहजता पैदा भएको हो । एक्ला एक्लै भिड्नु पर्दाको परिस्थति फरक बन्नेमा बिश्वस्त शंकर त्यसको फाइदा आफूलाई पुग्ने देखिरहेका छन् । नयाँहरुले एमालेको पुरानो मतलाई तलमाथि पार्न नसके मात्र शंकरको जीत सुनिश्चित देखिन्छ ।
शंकर पोखरेललाई जस्तै नेपाली कम्यूनिष्ट पार्टीका निर्मल आचार्य पनि पुरानो मतलाई सुरक्षित राख्ने दाउमै रहने छन् । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका राजु खनालसंग भिडेका निर्मलले त्यो बेला प्राप्त गरेको मतलाई सुरक्षित राख्ने दाउमा मात्रै हुने छैनन्, गत निर्वाचनमा तत्कालीन आफ्नो दलले प्राप्त गरेको मतलाई सुरक्षित राखेर विजयी यात्राको प्रारम्भ गर्ने दाउमा हुने छन् ।
उनको तत्कालीन दल माओवादीले २०७९ मा प्राप्त गरेको विजयी मतलाई सुरक्षित राख्न सके पुनः आफ्नो विजयको सुनिश्चितता देखिरहेका छन् । तर त्यो बेला कांग्रेससंगको गठबन्धनबाट प्राप्त मतलाई उनले सुरक्षित राख्न सक्ने चुनौती भने उनका सामु निकै ठूलो छ ।
किनकि, गत निर्वाचनमा माअोवादीसंग गठबन्धन गरेको कांग्रेस अहिले यो क्षेत्रकै ठूलो प्रतिष्पर्धीका रुपमा एक्लै निर्वाचनमा भिडेको छ ।
निर्वाचनमा भिडेका पुराना दुइ नेता शंकर र निर्मलले विगतको मतलाई सुरक्षित राख्ने दाउ हेरिरहेका बेला नयाँ उम्मेदवारहरु भने मत खोस्ने दाउमा रहनेछन् । शंकरका लागि ठूला प्रतिष्पर्धी मानिएका कांग्रेसका किरणकिशोर घिमिरे नयाँ उम्मेदवारका रुपमा यो क्षेत्रको चुनावी मैदानमा होमिएका छन् ।
कांग्रेसको बलियो जनमत मानिने यो क्षेत्रमा कांग्रेसको पुरानो मतलाई सुरक्षित राख्दै नयाँ मत खोस्ने दाउमा उनि हुनेछन् । त्यसोत, जेनजी आन्दोलनको म्याण्डेट अनुसार ‘नयाँ अनुहार’ का रुपमा चुनावी मैदानमा रहेका घिमिरे प्रति नयाँ मतदाताहरुको आकर्षण बढ्न सक्ने आँकलन गरिएकै छ ।
नयाँसँगै तटस्थ मत खोसेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न खोजेका घिमिरे पहिलो पटक संसद छिर्ने योजनाका साथ लागेका छन् । माओवादीसंगको गठबन्धनका कारण गत निर्वाचनमा रुखमा मत हाल्न नपाएका कांग्रेसीहरुले अहिले रुखमा मतदान गर्न पाउनुलाई अवसरका रुपमा समेत हेरेका छन् । फलतः कांग्रेसमा यसले सकारात्मक जागरण समेत ल्याइदिएको छ । फलतः कांग्रेसको जनमत एक बन्ने र नयाँ तथा तटस्थ मतदाताको मत समेत आफ्नो पक्षमा पर्ने बिश्वासमा कांग्रेसका घिमिरे छन् ।
यसैगरी अघिल्लो निर्वाचनमा पार्टीले प्राप्त गरेको मतलाई सुरक्षित राख्दै थप मत खोस्ने योजनाका साथ चुनावी मैदानमा अर्का उम्मेदवार रास्वपाका विपिन आचार्य पनि छन् । गत निर्वाचनमा झण्डै १६ हजार मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको यो दल अहिले पहिलो शक्ति बन्ने दृढ बिश्वासमा देखिन्छ । पहिलो पटकको निर्वाचनमै तेस्रो ठूलो शक्ति बनेको यो क्षेत्रमा उम्मेदवारका रुपमा पार्टीका सहमहामन्त्री आचार्य मैदानमा उत्रिएका छन् ।
यसअघिको निर्वाचनमा रास्वपाबाट विशाल अधिकारी भिडेका थिए । मूलतः यो पार्टीको नजर पुराना दलहरुकै मतदाता माथि रहने छ । पुराना दलहरुले केही गर्न नसकेको भाष्यलाई मूलभूत रुपमा उठान गरिरहेको यो पार्टी र उम्मेदवारहरुले नयाँ शक्तिको विकल्पका रुपमा आफूहरु अगाडी सरेको भन्दै मतदाताको मन जित्न खोजिरहेका छन् ।
पुराना दलहरुको मतलाई खोस्ने दाउमा रहेका विपिन पुराना दलहरुलाई गलत प्रमाणिन गर्न खोजेर नयाँ बैकल्पिक शक्तिको अपरिहार्यता दर्साइरहेका छन् । तर रास्वपाको यो चालबाजी बुझेका पुराना भनिएका दलहरुले आफूहरुको मत सुरक्षित राख्ने तानाबाना बुनिरहेका छन् । फरक दलहरुको मत खोस्न सकेमा रास्वपाको जनमत बलियो बन्ने देखिन्छ ।
गत निर्वाचनमा विजयी तत्कालीन माओवादीकी रेखा शर्माले २६ हजार ८ सय ८०, एमालेका महासचिव शंकर पोखरेलले २६ हजार ६ सय ८७, रास्वपाका विशाल अधिकारीले १५ हजार ८ सय ८ सय ६१ मत प्राप्त गरेका थिए । अहिले यो निर्वाचन क्षेत्रमा १ लाख ४० हजार ९ सय ६५ मतदाता छन् ।











