Logo
Logo

भ्रमको बेलुन फुट्दैछ, सामाजिक सञ्जालको ‘स्टन्ट’ले चुनाव जितिँदैन


अग्नि सापकोटा, वरिष्ठ नेता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

441
Shares

आगामी फागुन २१ गतेको निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बहुआयामिक रणनीतिक तयारीमा लागेको छ । विभिन्न २३ वटा घटक मिलाएर बनेको नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा देशव्यापी चुनावी अभियानमा होमिएको छ । केन्द्रदेखि वडा तहसम्म कार्यकर्ता परिचालन र प्रशिक्षण कार्यक्रम भइरहेका छन् ।

देशव्यापी रूपमा निर्वाचनको माहोल तीव्र बन्दै जाँदा नेकपा आफूलाई परिवर्तन र अग्रगमनको मूल शक्तिका रूपमा स्थापित गर्ने अभियानमा छ । नेकपाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीको रक्षा र विकासलाई केन्द्रीय राजनीतिक एजेन्डा बनाएको छ । यी उपलब्धिलाई संस्थागत गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमार्फत जनविश्वास पुनः आर्जन गर्ने रणनीति नेकपाको छ ।

घोषणापत्रमार्फत नेकपाले जेनजी आन्दोलनले उठाएका सुशासन, सेवा प्रवाह, पूर्वाधार विकास र समृद्धिका मुद्दा समेटिनुका साथै बदलिँदो सामाजिक चेतनालाई आत्मसात् गर्ने संकल्प गर्दै छ । विशेषगरी समाजवादउन्मुख राज्य व्यवस्थामार्फत रोजगारी सिर्जना, बेरोजगारी अन्त्य र जीवनस्तर उकास्ने प्रतिबद्धतासहित जनताकोबिचमा नेकपा जाँदै छ ।

विगतका कमजोरी स्विकार्दै आत्मआलोचना गरिएको र जनतासँग पुनः सम्बन्ध मजबुत बनाइएको दाबी नेकपाको छ । चुनावी तालमेल गर्ने पक्षमा नेकपा देखिएको छैन । नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । चुनावी रणनीति, एजेन्डा, वैचारिक स्पष्टता र चुनौतीका विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं प्रचार संयोजक अग्नि सापकोटासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

देशव्यापी रूपमा निर्वाचनको माहोल बढ्दै गएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कस्ता एजेन्डा लिएर जनतामा जाँदै छ ?
पहिलो कुरा, नेपाली कम्युनिष्ट पार्टी नै परिवर्तन र अग्रगमनको संवाहक हो। हाम्रै पार्टीका एजेण्डाका आधारमा देश चलिरहेको छ । बीचमा केही समय अलमलिएको जस्तो देखिए पनि अहिले पुनः पहलकदमी सुरु भएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक व्यवस्थालाई अझ स्थापित र विकसित गर्दै त्यसकै माध्यमबाट सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्नु नै हाम्रो मुख्य एजेन्डा हो । दोस्रो, जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार विरुद्धको मुद्दालाई प्राथमिकतामा राखिएको छ । घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशमा पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह, न्याय र निष्पक्षता स्थापित गर्नु हाम्रो उद्देश्य हो ।

अर्को महत्त्वपूर्ण विषय संविधानमा हामीले लोकतान्त्रिक गणतन्त्रात्मक समाजवादको व्यवस्था गरेका छौँ । प्रारम्भिक चरणमा समाजवादउन्मुख राज्य व्यवस्था अवलम्बन गरिएको छ, जसको अर्थ रोजगारी सिर्जना गर्नु हो। बेरोजगारी अन्त्य गर्नु, सामूहिक प्रगति हासिल गर्नु र जनताको जीवनस्तर उकास्नु नै यसको मूल लक्ष्य हो । समाजवादको अर्थ सबै नागरिकले शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच पाउनु हो । त्यसपछि मात्रै दिगो समृद्धि सम्भव हुन्छ । समाजवाद एक महान् र दीर्घकालीन प्रक्रिया भएकाले त्यसतर्फ अघि बढ्न अहिले नै समाजवादउन्मुख कार्यक्रमहरू अघि सारिएका छन् ।

जेनजी विद्रोहका कारण २०८४ को निर्वाचन २०८२ मै हुँदैछ। जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार अन्त्य र सुशासन थियो । यस सवालमा नेकपाले अन्य दलभन्दा फरक के गर्न सक्छ ?
नेकपा (तत्कालीन नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसमेत सामेल) नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध ठुलो अभियान सञ्चालन गरेको थियो । भ्रष्टाचारविरुद्ध कदम चाल्ने क्रममा सरकारबाट बाहिरिनुपरेको हो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । अर्कोतर्फ, अहिले देखिएको अराजकता र विचारहीनताको अवस्था गम्भीर छ। दर्शन, विचार, सिद्धान्त, दृष्टिकोण, रणनीति, नीति र कार्यक्रममाथि आवश्यक बहस हुन सकेको छैन । संसदसमेत एक प्रकारले निष्क्रिय बनेको थियो, जसकै कारण देश बहुआयामिक संकटमा फसेको छ । यसको मूल कारण विचारहीनता नै हो ।

त्यसकारण हामी वैचारिक बहस सृजना गर्छौँ । उक्त बहसमा नेकपाको दर्शन, सिद्धान्त, विचार र राजनीतिक कार्यदिशा त रहने नै छ, त्यससँगै नेपालको राष्ट्रिय दृष्टिकोण कस्तो हुने भन्ने विषयमा पनि छलफल गरिन्छ । नेपालको साझा दृष्टिकोण निर्माणका लागि सबै राजनीतिक दल, विभिन्न संघसंस्था तथा समाजका अगुवालाई समेटेर अघि बढ्ने हाम्रो नीति छ । पार्टी एकताको प्रक्रिया अझै अगाडि बढ्नेछ भने त्यससँगै वृहत् संयुक्त मोर्चा निर्माण गरिनेछ । उक्त मोर्चामा राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिक अगुवाहरू सहभागी हुनेछन् ।

यस मोर्चामार्फत देशभक्तिपूर्ण अभियान सञ्चालन गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, आत्मनिर्भरता र विशेषगरी आत्मनिर्णयको अधिकारलाई स्थापित गर्ने लक्ष्य लिइएको छ । आत्मनिर्णयको अधिकार संरक्षण गर्दै समग्र देशलाई एकताबद्ध गर्ने प्रक्रियामा नेपाली कम्युनिष्ट पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने विचारसहित राजनीतिक कार्यदिशाको घोषणापत्र निर्माण भइरहेको छ ।

अहिलेको चुनावमा ‘नयाँ कि पुरानो’ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ नि ?
अहिले धेरैले आफूलाई नयाँ–नयाँ भनेर प्रस्तुत गरिरहेका छन्। तर ती नयाँ भनिएकासँग न त स्पष्ट विचार छ, न सिद्धान्त, न दृष्टिकोण नै छ, न राष्ट्रका ज्वलन्त एजेन्डाहरू प्रस्तुत गर्न सकेका छन् । आफूलाई नयाँ भन्ने रास्वपा पार्टी र बालेन साहबीच भएको १० बुँदे सहमतिमा पनि प्राविधिक विषयबाहेक अन्य कुनै ठोस राजनीतिक एजेन्डा देखिँदैन । सामाजिक सञ्जालमा नयाँपनको नाममा स्टन्टवाजी गरिएको छ र प्रविधिको अत्यधिक दुरुपयोग गर्दै जनतालाई भ्रमित गर्ने प्रयास भइरहेको छ । तर यस्तो भ्रम दीर्घकालीन हुँदैन । उनीहरूको लोकप्रियताको ग्राफ क्रमशः घट्दै गएको छ । सुरुमा जनतामा ‘नयाँ भनेका कहाँबाट आएका हुन्, कस्ता होलान्’ भन्ने उत्सुकता थियो । अहिले भने तीमध्ये धेरैजसो हिजो व्यापार–व्यवसायमा संलग्न रहेका, कतिपय त ठगीधन्दा सम्म जोडिएका व्यक्तिहरू नै अगाडि देखिँदा जनताको भ्रम क्रमशः हट्दै गएको छ । केही समयसम्म जनतालाई भ्रममा पार्न सकिएला, तर अन्ततः जनताको मन जित्न विचार, सिद्धान्त र स्पष्ट एजेन्डा अनिवार्य हुन्छ। विश्वसनीय आधारसहितको राजनीतिक कार्यदिशा प्रस्तुत गर्न सक्नु नै दीर्घकालीन विश्वासको आधार हो ।

एकातिर रास्वपा छ भने अर्कोतिर कांग्रेस र एमालेजस्ता पुराना दलहरू छन् । यी दुवै पक्षलाई चिरेर नेकपा कसरी अगाडि बढ्छ ?
यी दुवैलाई छाडेर हाम्रो पार्टी आफ्नै मार्गमा अगाडि बढिरहेको छ । एमाले अहिले इतिहासमै सबैभन्दा रक्षात्मक अवस्थामा पुगेको छ । पार्टीभित्र गहिरो निराशा र असन्तुष्टि छ, असाध्यै ठूलो छटपटी देखिन्छ । एमालेबाट दिनदिनै अन्य पार्टीमा प्रवेश गर्ने लहर चलेको छ, सिंगो जिल्ला कमिटीहरू नै प्रवेश गरेका उदाहरण छन्। एमाले अब राष्ट्रिय राजनीतिबाट क्रमशः रिङआउट हुँदै गएको देखिन्छ ।

कांग्रेसको अवस्था पनि फरक छैन । पार्टीभित्र गहिरो अन्तर्विरोध छ र एकताबद्ध कांग्रेस देखिँदैन । विशेष महाधिवेशनको समयमा केही सुधार होला कि भन्ने अपेक्षा थियो, तर अहिले कांग्रेसले कुनै ठोस पहलकदमी लिन सकेको छैन । देशभर कांग्रेसको पक्षमा नागरिकहरू खुलेर उभिएको अवस्था पनि छैन । त्यसकारण अहिले निर्वाचनमा कांग्रेस र एमाले नेकपाका लागि प्रमुख चुनौती रहेनन् भन्ने हाम्रो निष्कर्ष छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वैचारिक, राजनीतिक, एजेण्डागत, पहलकदमी र नेतृत्वको गतिशीलताको हिसाबले नेपाली कम्युनिष्ट पार्टी नै अहिले सबैभन्दा अगाडि छ । कम्युनिष्ट आन्दोलनको मूलधार अब नेपाली कम्युनिष्ट पार्टी नै भएको छ । नेपाली जनताले क्रमशः के बुझ्न थालेका छन् भने, अन्ततः यो देशलाई निकास दिन सक्ने शक्ति नेपाली कम्युनिष्ट पार्टी र त्यसका नेता नै हुन् । कमरेड प्रचण्ड र कमरेड माधवकुमार नेपालको नेतृत्वले देशलाई निकास दिन सक्छ भन्ने विश्वास बिस्तारै जनतामा बस्दै गएको छ । यही नै भरोसा गर्न सकिने शक्ति हो भन्ने जनताले बुझ्दै गएका छन् ।

नेकपाले विगतको मूल्यांकन कसरी गरेको छ ? सुधारका ठोस योजना के–के छन् ?
हामीले विगतमा केही कमिकमजोरी, त्रुटि ग¥यौँ । जनताप्रति अलि बेवास्ता भयो । हाम्रो वर्गलाई हामीले छोड्यौँ । वर्ग दृष्टिकोण पनि कमजोर भयो । हामीले त्यसकको समीक्षा ग¥यौँ र आत्माआलोचना पनि ग¥यौँ । त्यसैले हामी जनतातिर फर्कियौँ । जनता पनि हामीतिर फर्किएको छ । जनता र नेपाली कम्युनिष्ट पार्टीबीच अब एकरुपता आएको छ । भदौ २४ को ठुलो विध्वंसले देशको आत्मा नै जलिसकेपछि हामीले पनि गम्भीर समीक्षा ग¥यौँ । जनताको मथिंगल पनि नराम्रोसित हल्लियो । त्यसको बिचबाट हामीले हाम्रा विगतका गल्ती, कमजोरी स्वीका¥यौँ । त्यसकारण हाम्रो हातमा बिस्तारै पहलकदमी आउँदैछ ।

चुनावी तालमेलका चर्चा/परिचर्चा पनि हुने गरेका छन् ? चुनावी तालमेलको सम्भावना छ ?
चुनावी तालमेलको सम्भावना छैन । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइसक्यौँ । उम्मेदवारले आफ्नो प्रचारलाई तीव्र, घनीभूत बनाइरहेका छन् । देशैभरि उम्मेदवार, कार्यकर्ता, समर्थन, शुभचिन्तक र जनताको मनोबल उठेको छ । तालमेल, गठबन्धनको कुरासमेत नभनियोस्, त्यसले चुनावी बेगलाई कमजोर बनाउँछ भनेर तल्लो तहबाटै खबरदारी आइरहेको छ । एक्लै निर्वाचन लडेको हुनाले हाम्रा साथीहरूको मनोबल उच्च छ । हामीले अघिल्लो चोटी ४४ क्षेत्रमा मात्रै उम्मेदवार उठाएका थियौँ, अहिले १६४ ठाउँमा उठाएका छौँ । प्रत्यक्षमा पनि हाम्रो धेरै राम्रो सिट आउँछ । समानुपातिकमा त झन् गुणात्मक ढंगले बढ्छ । त्यसकारण हामीले चुनावी गठबन्धन÷तालमेललगायतका कुरालाई खारेज गरेका छौँ ।

माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २३ वटा घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यसको निर्वाचनमा परिणाम कस्तो आउँला ?
हामीले प्रारम्भिक रूपमा समीक्षा गर्दा ६७ स्थानमा राम्रो हुन्छ, त्यहाँ ध्यान दिनुपर्छ । ५६ स्थानमा विशेष राम्रो हुन्छ, त्यसलाई जोड दिनुपर्छ । अरू बाँकीलाई सामान्यमा राख्नुपर्छ भन्ने हाम्रो समीक्षात्मक निष्कर्ष निस्केको छ । आजको दिनसम्म आइपुग्दा त्यो निष्कर्ष सही साबित हुन्छ भन्ने लाग्छ ।

संयोजक प्रचण्ड चुनाव क्षेत्र फेर्दै हिँड्नुको कारण के हो ?
विरोधीहरूले ‘निर्वाचन क्षेत्र बदल्दै हिँडेको हार्ने भएर’ भन्छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचन लड्दै निर्वाचन क्षेत्र रोल्पा र काठमाडौं रोजेको हो । त्यो बेला हार्ने भनेर होइन । त्यतिबेला बहुमत क्षेत्र नै जितिएको थियो । पहिलो त, निर्वाचन क्षेत्र फेर्नु प्रचण्डको गतिशीलता हो । दोस्रो, अहिले पहाड, कहिले मधेश, कहिले आधार इलाका, कहिले आफूले पढाएको ठाउँ गोरखा, कहिले कर्मभूमि चितवन सबैतिरबाट निर्वाचन लड्नुभएको छ । प्रतिकारात्मक सन्देश दिनका लागि खासखास क्षेत्रबाट प्रचण्डले निर्वाचन लड्दै आउनुभएको छ । पहिला रोल्पा उठ्नुभयो । रोल्पा र रुकुम भनेको आधार इलाका नै हो । त्यो आधार इलाकामा अहिले जानुपर्छ भनेर पार्टीले सोचेर प्रचण्डलाई त्यहाँ पठाएको हो ।

प्रत्यक्ष जनसम्पर्क र डिजिटल अभियानमार्फत प्रचारको कामलाई नेकपाले कसरी जोडिएको छ ?
अहिले एआईको दुरुपयोग गरेर भ्रम छर्ने काम भइरहेको छ । भ्रम लामो समय टिक्दैन । भोट दिने जनता धेरै सचेत छन् । हाम्रो तागत भनेकै जनता हुन् । हामी जनतामै भर परेका छौँ । हामी हाम्रै तरिकाले निर्वाचन लड्नुपर्छ, लड्छौँ । हामीले केन्द्र, प्रदेश र स्थानीय तहसम्म धेरै राम्रो तयारी गर्दैछौँ । बुथमा पनि हामी राम्रो तयारी गर्छौँ । स्वयंसेवक दलहरू पनि बनाउँछौँ । जनताको इच्छाअनुसार स्वतन्त्रतापूर्वक भोट हाल्ने वातावरण बनाउनका लागि हामी अधिकतम प्रयत्न गर्छौँ । विज्ञान, प्रविधिले अहिले जुन चमत्कार गरेको छ । त्यो चमत्कारलाई पनि हामी सदुपयोग गर्छौँ । फेरि पनि अन्तिम तागत भनेको जनता नै हुन् । भोट हाल्ने जनताले हो । जनतालाई भ्रमित हुन नदिनका लागि जनताको घरदैलोमा निरन्तर गइराखेका छौँ । एउटा कुरा प्रस्ट भनौँ–नयाँ भन्नेहरूले हावामा तावा खाइरहेका छन् । जरासम्म पुगेका त हामी छौँ नि । अहिले पनि हाम्रा कुराहरू जरासम्म पुगेको छ ।

जनतालाई त्यसले शीतलता दिएको छ । नयाँ भन्नेहरू हावामा तैरिरहेका छन् । उनीहरूको भर त्यही सामाजिक सञ्जालमा मात्रै छ । सामाजिक सञ्जालले केही दिन त भ्रममा पार्लान्, चुनाव आउने दिनसम्म त्यस्ता भ्रम बेलुन फुटेको जस्तो फुट्छ । हावामा भएको कुरा धेरै दिन अडिँदैन । त्यो उजागर हुन अनिवार्य छ । भ्रममा पारेर जनतालाई धोका दिने, विश्वासघात गर्ने कुरा धेरै दिन चल्ने वाला छैन ।

प्रतिक्रिया दिनुहोस्