काठमाडौं । नेपाली कांग्रेसले यही फागुन ३ गते (भोलि) पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेस केन्द्रिय प्रचार, प्रचार समितिले सो जानकारी गराएको हो ।
पार्टीको तर्फबाट प्रतिज्ञापत्रको रुपमा सो घोषणा पत्र जारी गरिने पार्टीका प्रवक्ता देवराज चालिसेले बताए। उनले घोषणा पत्रमा सार्वजनिक गरिएका कार्यक्रमहरु सम्पन्न गर्ने मितिसहितको प्रतिज्ञा घोषणा पत्रमा समावेशी गरिने पनि बताए ।
प्रवक्ता चालिसेले भने, ‘यसअघि घोषणा पत्र मात्र घोषणा पत्रको रुपमा मात्रै जारी भएको नेपाली जनताले महशुस गरे । लामा लामा सपनाहरु ठूल्ठूला कथाहरु जस्तो देखियो । र जनताले ती घोषणा पत्रको बारेमा जुन चासो राख्नुपर्ने हो, त्यो समेत नभएको अवस्था विगतमा देखियो । यस पटक हामीले घोषणा होइन कि प्रतिज्ञा पत्र ल्याउँछौ । जो फरक छ । हामीले प्रतिज्ञाको सन्दर्भमा यो घोषणा गर्दैछौँ । यति हामी काम गर्नसक्छौँ, यति हामी गर्छौं गर्नसक्छौँ र गर्छौं भन्ने कुरा पिरियडीकल्ली हुन्छ ।’
नेपाली कांग्रेसले घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु पूरा गर्नका लागि समयसीमासहितको कार्यतालिका घोषणा पत्रमा उल्लेख गरिने जनाएको छ । प्रवक्ता चालिसेले काँग्रेस बदलिएको र त्यसले प्रतिज्ञा गरेका विषयहरु तोकिएको समय भित्र सम्पन्न गर्ने हुने गरी घोषणा पत्र ल्याउन लागिएको बताए ।












