Logo
Logo

जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश


1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारहरू नानु थामी र सुस्मिता थापा मगरसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

The current image has no alternative text. The file name is: Jasapa-ofice.jpg

आइतबार बीपी नगर, सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

कांग्रेसमा समाहित हुनेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन र टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला–स्तरीय नेता तथा कार्यकर्ताहरू रहेको सुस्मिता थापा मगरले जानकारी दिइन् ।

त्यसैगरी, दोलखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्यहरू केशव थामी, शम्भु थामी तथा सङ्घीय समाजवादी महिला महासङ्घकी सुशीला थामीसहित दर्जनौँ नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

नवप्रवेशी नानु थामीले बदलिएको कांग्रेसबाट मात्रै मुलुकका समस्या समाधान हुने विश्वासका साथ पार्टी रोजेको बताइन् । जनताको अपेक्षाअनुसार देशको अवस्था परिवर्तन गर्ने अभियानमा कांग्रेस नै सबैभन्दा बलियो र विश्वासिलो शक्ति भएकाले आफूहरू समाहित भएको उनको भनाइ थियो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार नवप्रवेशी नेताहरूलाई उचित जिम्मेवारीसहित स्वागत गरिएको छ । शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहितको टोली कांग्रेसमा प्रवेश गरेको उल्लेख गर्दै पछिल्लो समय कांग्रेस प्रवेशको लहर बढ्दो रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्