काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित आइतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।

शासकीय सुधारअन्तर्गत पार्टीले प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ । राज्यको खर्च कटौती गर्ने उद्देश्यसहित सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ । साथै, मन्त्रालयको सङ्ख्यासमेत उल्लेख्य रूपमा घटाउने नीति लिइएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर प्रतिबद्धता जनाएको छ । मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’ को विकल्प उपलब्ध गराउने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
आर्थिक तथा सामाजिक क्षेत्रतर्फ पार्टीले महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत प्रत्येक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।
त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा तथा तोकिएका स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क गर्ने, र ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।
(पूर्णपाठसहित)












