Logo
Logo

रास्वपाले ल्यायो नागरिक करारपत्र


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । पार्टीले आफ्ना प्राथमिकता, वर्तमान अवस्था र लक्ष्य समेटिएका बुँदासहित करारपत्र सार्वजनिक गरेको हो ।

करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशिता, सनातन सभ्यताको सम्मान, धार्मिक, सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तारमार्फत सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान अक्षुण्ण राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

आइतबार रवि लामिछाने ले सार्वजनिक गरेको करारपत्रको नमुनामा पाँच विषय समेटिएका छन् ।

पहिलो, सदाचार र असल शासन : भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने तथा २०४६ सालयताकै सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने उल्लेख छ ।

दोस्रो, मध्यम वर्गीय विस्तार : नागरिकको औसत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने र जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने लक्ष्य राखिएको छ ।

तेस्रो, काम : १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ ।

चौथो, कनेक्टिभिटी : गुणस्तरीय सडक तथा हवाई सञ्जाल विस्तार, सुलभ इन्टरनेटको व्यवस्था र १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।

पाँचौँ, प्रवास : विदेशमा बस्ने नेपालीका लागि अनलाइन मतदानको व्यवस्था, सुरक्षित लगानीको वातावरण, सम्मानित देशफिर्ती तथा मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्ने उल्लेख छ ।

चुनाव लक्षित करारपत्रबारे विस्तृत विवरण भने फागुन ७ गते सार्वजनिक गरिने लामिछानेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्