झापा । झापा क्षेत्र नम्बर ५ मा आगामी प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा दिनप्रतिदिन रोचक मोड लिँदैछ। दुई प्रमुख राजनीतिक हेभिवेटहरू नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह यस क्षेत्रको उम्मेदवार बनेपछि झापा–५ राजीतिक इपीसेन्टर बनेको छ ।

करिब एक साताअघि दुवैले एकसाथ घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए । त्यसपछि केही दिनका लागि राजधानी काठमाडौँ फर्किएका ओली पुनः आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय भएका छन् । उनी बिहानै यति एयरलाइन्सको विमानमार्फत काठमाडौँबाट चन्द्रगढी विमानस्थल हुँदै झापा ५ पुगेका थिए । अर्कोतर्फ, बालेन शाह विराटनगर अवतरण गरी सोही क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
ओलीले चुनावी अभियानअन्तर्गत झापा ५ का विभिन्न गाउँघरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् भने बालेन पनि तीन दिनसम्म सोही क्षेत्रमा रहेर आफ्ना समर्थकहरूसँग प्रत्यक्ष संवाद गर्दै देशव्यापी दौडाहाको तयारीमा लागेका थिए।
आइतबार दुवै नेताहरू एकै समयमा निर्वाचन क्षेत्रमा सक्रिय भएपछि स्थानीय प्रशासनले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ । कार्यकर्ताबीच हुने सम्भावित टकराव र भीड व्यवस्थापनका लागि प्रशासन सतर्क रहेको जनाएको छ।
एकै निर्वाचन क्षेत्रमा दुई राजनीतिक हेभिवेटहरूको सक्रिय उपस्थितिले झापा ५ को चुनावी वातावरणलाई अत्यधिक तताएको छ। विश्लेषकहरूले यस प्रतिस्पर्धालाई क्षेत्रीय राजनीतिमा निर्णायक मोडका रूपमा मूल्याङ्कन गरिरहेका छन् ।












