Logo
Logo

ललितपुर-३ मा तोसिमालाई कसले दिँदै छ चुनौती ?


1.2k
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेशको ललितपुर-३ निर्वाचन क्षेत्र पनि रहेको चर्चामा रहेको छ । यस क्षेत्रमा रास्वपा नेतृ डा। तोसिमा कार्की उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

ललितपुरको क्षेत्र नम्बर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म, वडा नम्बर १०, १३, १४, १५, १८ सम्म तथा वडा नम्बर २० देखि २९ सम्म  र गोदावरी नगरपालिकाको वडा नम्बर १२ र १४ रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ललितपुर-३ मा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख २ हजार ४३७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा ११४ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन-२०७९ 

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट रास्वपा सांसद डा। तोसिमा कार्की विजयी भएकी थिइन् । तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेर विजयी भाकी थिइन् । त्यस्तै नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी २०७९ को समानुपतितर्फ ललितपुर- ३ मा रास्वपाले १६ हजार ६५० मत प्राप्त गरेको थियो भने एमालेले १२ हजार २९७ मत पाएको थियो । त्यसैगरी राप्रपाले ८ हजार ७८९ मत र नेपाली काँग्रेसले ८ हजार २४७ मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ६ हजार ५३१ मत प्राप्त गरेको थियो ।

उम्मेदवार-२०८२

यस निर्वाचनमा ललितपुर-३ मा राजनीतिक दल र स्वतन्त्र गरेर कुल २० उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

यस क्षेत्रमा रास्वपाले पुनस् तोसिमा कार्कीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले सन्दन थापा मगरलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाली काँग्रेसले जितेन्द्र कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने नेकपाले राम काजी महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाबाट सबिन कुमार खडका उम्मेदवार बनेका छन्  ।

तोसिमा कार्की बलियो अवस्थामा

यस पटक पनि रास्वपा उम्मेदवार तोसिमा कार्की बलियो अवस्थामा रहेको देखिएको छ । गत निर्वाचनमा माओवादी र काँग्रेसले गठबन्धन गरेर पनि चुनौती दिन नसकेको अवस्थामा यस पटक सबै दल अलग अलग चुनाव लडेकाले तोसिमालाई सहज हुने देखिन्छ । तर भदौ २३ र २४ को आन्दोलनमा उनको भूमिकाका विषयमा कैयौँ मतदाताले प्रश्न उठाएका हुनाले उनले त्यसको सामना कसरी गर्छिन् र त्यसलाई मतदाताले कसरी लिन्छन् भन्ने प्रश्न भने रहेको छ । रास्वपा पछि यस क्षेत्रमा एमाले र काँग्रेसको प्रभाव रहेको छ ।

रास्वपालाई देशभरमा देखिएको लहरको फाइदा हुने भएपनि बदलिएको काँग्रेसले केही हदसम्म फाइदा उठाउन सक्ने र एमाले पनि कमजोर नरहेको विश्लेषण गरिएको छ । तर पनि एमाले काँग्रेसले तोसिमालाई चुनौती कति दिन सक्छन्, त्यो अहिले अनुमान गर्न सक्ने अवस्था छैन । किनकी पछिल्लो चुनावमा उनले  १८ हजार भन्दा बढीको अन्तरले जितेको हुनाले अन्य दलले चुनौती दिन मुश्किल हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्