काठमाडौं । देशको एक मात्र पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक फेरि विवादको घेरामा परेको छ । बैंकभित्रै उच्च तहका पदाधिकारीहरूबीचको पारिवारिक सम्बन्ध र लेखापरीक्षण प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेपछि सुधारको दाबीमै संशय पैदा भएको छ । उसो त, बैंकको वित्तीय विवरणले देखाएका सूचकहरू पनि सकारात्मक छैनन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र रमण खनाल र लेखापरीक्षक प्रकाश लम्सालबीच नातेदारी सम्बन्ध रहेको तथ्य सार्वजनिक भएपछि स्वार्थको द्वन्दको बहस चर्किएको हो । सिइओकै आफन्त संलग्न लेखापरीक्षणले बैंकभित्र भएका निर्णय तथा सम्भावित अनियमितताको परीक्षण निष्पक्ष रूपमा भयो कि भएन भन्ने प्रश्न उठेको छ ।
बैंक स्रोतहरूका अनुसार, हालै सम्पन्न लेखापरीक्षणमा व्यवस्थापनसँग सम्बन्धित केही संवेदनशील विषयमा स्पष्ट टिप्पणी नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । यद्यपि, यस विषयमा बैंक व्यवस्थापनले औपचारिक प्रतिक्रिया दिएको छैन ।
बैंकको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्व अधिकारी रहेको, सीइओको राजनीतिक निकटताबारे चर्चा हुने, र सञ्चालक समितिमा पूर्व मन्त्रीहरूसँग व्यावसायिक वा पारिवारिक सम्बन्ध जोडिएको जस्ता विषयले संस्थागत सुशासनको आधारमै प्रश्न उठाएको छ ।
सरकारी स्वामित्वको संस्थामा स्वार्थको द्वन्द्व सम्बन्धी प्रावधान झनै संवेदनशील मानिन्छन् । व्यवस्थापन र लेखापरीक्षकबीच प्रत्यक्ष नातेदारी सम्बन्ध भएमा त्यसको स्पष्ट खुलासा र स्वतन्त्र अडिटरमार्फत परीक्षण गरिनु सुशासनको न्यूनतम मापदण्ड मानिन्छ ।
यसैबीच, नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) मा वाणिज्य बैंकको सीइओ र अडिटर दुवैमाथि कारबाहीको माग उठेको छ । लेखापरीक्षण पेशाकै विश्वसनीयतामा धक्का पुग्नेगरी काम भएको आरोप लगाउँदै स्वतन्त्र छानबिनको आवश्यकता औंल्याइएको छ । तर, आइक्यानकै कार्यकारी तहमा बैंकका पूर्व कर्मचारी रहेको कारण निष्पक्ष कारबाही हुने÷नहुनेबारे समेत आशंका व्यक्त भइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको यस घटनालाई केन्द्रीय बैंकले नियामकको रूपमा कसरी हेरिरहेको छ ? त्यो महत्वपूर्ण हो । तर यस घटनालाई अहिले भित्रभित्रै सामसुम पार्न प्रपञ्च रचिएको बैंकका कर्मचारीहरूको आरोप छ ।
यस घटनाले राष्ट्रिय वाणिज्य बैंकमाथिको सार्वजनिक विश्वास थप कमजोर हुने जोखिम देखिएको छ ।
अर्कोतिर यस बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत पुगिसकेको छ । बैंकले निष्क्रिय कर्जा बढेसँगै प्रोभिजन रकम पनि बढाउनुपरेको छ ।
गत आवको पुससम्ममा १ अर्ब २४ करोड २५ लाख रुपैयाँ मात्र प्रोभिजन गरेकोमा चालु आवको सोही अवधिमा १८.६२ प्रतिशत बढेर प्रोभिजन रकम १ अर्ब ४७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यसरी प्रोभिजन बढ्दै जाँदा बैंकको नाफामा दवाव परेको छ ।
राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनाल २०८१ जेठमा नियुक्त भएका थिए । उनले यस बैंकको नेतृत्व गरेको डेढ वर्ष भइसकेको छ । यसबीचमा उनले यस बैंकलाई उचाइमा पुर्याउन असफल देखिएका छन् । झनै निष्क्रिय कर्जा बढ्दै जानु र त्यसलाई नियन्त्रण गर्न नसक्नु गम्भीर अवस्था बनेको छ । यसबीचमै आएको उनको विवादित क्रियाकलापले बैंकको छविमा गम्भीर असर पुर्याउने चिन्ता सरोकारवालाहरूले गरेका छन् ।












