काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार एमाले उपाध्यक्ष विष्णु पौडेललाई हराउन एमालेका पदाधिकारी नै लागेका छन् । लामो समयदेखि सो क्षेत्रबाट निर्वाचित हुँदै आएका पौडेलविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्म एकमत रहेको स्रोतको भनाइ छ ।

महासचिव शंकर पोखरेललाई संसदमा जसरी पनि ल्याउन लागिपरेका एमाले अध्यक्ष ओली पौडेलको हकमा भने मौन रहेका छन् । नेकपादेखि प्रलोपा र राप्रपासम्म चुनावी गठनबन्धन गरेर भएपनि महासचिव पोखरेललाई संसदमा ल्याउन लागिरहेका ओली पौडेललाई भने रुपन्देहीबाट पाल्पा लखेटेर त्यहाँ अर्को नेता स्थापित गराउन खोजेका थिए । अन्तिम समयमा पौडेलले आफ्नो क्षेत्रबाहेक अन्य क्षेत्रमा चुनाव लड्न नजाने बताएपछि बाध्य भएर ओलीले टिकट दिएका थिए । पौडेललाई रुपन्देही २ बाट चुनाव लड्नका लागि उम्मेदवार बनाए पनि एमालेकै एकथरी कार्यकर्ता र केन्द्रबाटै पुरै असहयोग रहेको छ ।
स्रोतका अनुसार बुटवलबाट प्रदेशको राजधानी दाङको भालुवाङ सारेपछि बुटवलका नेवार समुदाय पौडेलसँग रुष्ट छन् भने विगतदेखि एमालेमा भोट हाल्दै आएका स्थानीय सुकुम्बासीहरू अहिले एमालेप्रति रुष्ट छन् । तर पनि चुनावी रणनीतिमा माहिर पौडेलले अनेकौँ षडयन्त्रलाई चिर्दै विगतमा जस्तै परिणाम हात पार्नेमा ढुक्क छन् । यसका लागि उनले भित्री रणनीति बनाइरहेका छन् । विगतमा कांग्रेसका बालकृष्ण खाणसँग भित्री साँठगाँठ गरेका पौडेलले यस पटक कांग्रेसका उम्मेदवार चुनप्रसाद पौडेलसँग भित्री साँठगाँठ गर्ने प्रवल सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।
संसदीय निर्वाचनमा पटकपटक निर्वाचित भएपछि सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेलले तीन कार्यकाल उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । पार्टीभित्र उनलाई अवसर लिने नेताको रूपमा चित्रण गर्दै अध्यक्ष केपी–शंकर समूहले यसपटक पौडेललाई बाहिर राख्ने योजना बनाएका छन् ।
विगतमा शंकर पोखरेल संसदमा नहुँदा ओलीले लुम्बिनी प्रदेशबाट पटकपटक पौडेललाई अघि सार्नु परेको बाध्यता यसपटक ओलीले तोड्न खोजेको बताइएको छ । ‘विष्णु पौडेलमा भरोसा छैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘ओलीको चाहना यसपटक पौडेलले नजितुन भन्ने छ ।’
ओलीलाई झापामा संकट पर्दै गएको र यदि हार्ने अवस्थामा पौडेल नै संसदीय दलको नेता हुने भएकाले एमाले संसदीय दलको नेतृत्व पौडेलले गर्ने स्थिति आउँछ । ‘चुनाव जितेर आएमा संसदीय दलको नेता ओलीको विकल्पमा पौडेल हुने सम्भावना छ । यस्तो अवस्थामा शंकर पोखरेलको अभाव ओलीमा खड्किने छ ।’ ती नेताले भने ।
एमाले उपाध्यक्ष पौडेल राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्ति भएकाले जिल्लाको मुख्य केन्द्र मानिने क्षेत्र नं २ मा पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग यसपटक प्राय सबै नयाँ प्रतिस्पर्धी चुनावी मैदानमा नयाँ छन् । चुनावी प्रचारप्रसार शैली पनि उनको भद्र र शालिन देखिन्छ । यो निर्वाचन क्षेत्रमा एमाले नेता पौडेलले विसं २०६४ को पहिलो संविधानसभा, विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचन र विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार निर्वाचित भएका छन् ।
पौडेलले २०६४ मा तत्कालीन माओवादी नेता भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, २०७४ मा नेपाली कांग्रेसका नेता युवराज गिरी र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का गणेश पौडेललाई पराजित गरेका थिए ।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका भट्टराईलाई पराजित गरेका पौडेललाई राष्ट्रिय नेताको रुपमा अघि सारेको थियो ।
एमालेको आन्तरिक राजनीतिमापनि निर्णायक मानिएका पौडेललाई बुटबलबाट दाङ प्रदेश राजधानी पुर्याएको आरोप यतिबेला पार्टीभित्रका विपक्षीहरुले चर्चा गरेर बद्नाम गराउन खोजिरहेका छन् । साथै पौडेललाई एमालेका अर्का उपाध्यक्ष गोकर्ण पौडेल, नेताहरु ठाकुर गैर र खिमलाल भट्टराई वासुदेव घिमिरेलाई बोकेको आरोप लगाउन थालिएको छ ।
रुपन्देही क्षेत्र नं २ बाट यसपटक ४० जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमालेका उपाध्यक्ष पौडेल, कांग्रेसका व्यवसायीक पृष्ठभूमिका पौडेल, नेपाली कम्युष्टि पार्टीबाट युवा उम्मेदवार पाण्डे र रास्वपाका युवा उम्मेदवार खरेलबिच हुने देखिन्छ । क्षेत्र नं २ मा बुटवल उप–महानगपालिकाका १ देखि १३ नम्बर सम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्दछन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा १९ दलका १९ र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन् । रुपन्देही–२ मा सैनामैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एक लाख ३५ हजार ५० जना मतदाता रहेका छन् । पौडेलले रुपन्देही जिल्लालाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्दै लगेको र उद्योग व्यापारमा समेत योगदान रहेको मतदाताहरुको भनाई छ ।












