
काठमाडौं । आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन ‘वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समिति’ गठन गरिएको छ ।
पूर्व राजदूत क. विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा १५ हजार ५ सय १ सदस्यीय विशाल मूल समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा प्रेमकुमार खनाल र सचिवमा कृष्ण केसी रहेका छन् । समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, इन्जिनियर, कानुन व्यवसायी तथा विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरू समावेश छन् ।
परिचालन समितिको कामलाई व्यवस्थित बनाउन ५५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । जसमा आर्थिक परिचालनको जिम्मेवारी विष्णुप्रसाद पन्तलाई दिइएको छ भने प्रा.डा. गोविन्द सुवेदी, डा. बालमुकुन्द रेग्मी, डा. विष्णु हरि पण्डित लगायतका विज्ञहरू सदस्यका रूपमा रहेका छन् ।
समितिले एक अपील जारी गर्दै मुलुकमा गणतन्त्र, समावेशी लोकतन्त्र र जनताका मौलिक हकहरू जस्तै शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न वामपन्थी शक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।
नवउदारवादी अर्थनीतिले गरिबी र बेरोजगारी बढाएको हुँदा राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र समाजवादको आधार निर्माण गर्न १६५ वटै निर्वाचन क्षेत्रमा ‘तारा’ चिह्न वाहक उम्मेदवारहरूलाई विजयी गराउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।












