काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्स्को जहाज अवतरणकै क्रममा प्राविधिक समस्या देखिएपछि ‘ओभरसुट’ गर्दै बंगलादेशको ढाका डाइभर्ट गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके-७२६ मा अवतरणका बेला समस्या देखिएपछि चालकदलले तत्काल ओभरसुट गरेको थियो । विमानस्थल स्रोतका अनुसार समस्या विमानस्थलको नभई जहाजमै देखिएको हो ।
‘जहाजमै प्राविधिक समस्या देखिएपछि चालकदलले काठमाडौंमा अवतरण नगरी ढाका डाइभर्ट गर्ने निर्णय गर्यो,’ विमानस्थलका एक अधिकारीले बताए ।
ए ३३० सिरिजको उक्त वाइडबडी जहाज बुधबार बिहान ११:१० बजे अवतरण गर्ने तालिका थियो । अनुमानित आगमन समय १०:५६ बजे थियो । जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।
यसअघि २१ माघमा पनि टर्किसको जहाज काठमाडौंबाट उडे लगत्तै दायाँ इन्जिनमा आगलागी देखिएपछि भारतको कोलकता डाइभर्ट गरिएको थियो ।
उता, थाइल्यान्डको बैंककबाट आएको थाइ एयरवेज को जहाज भने काठमाडौंमा बढी हावा चलेका कारण केही समय ‘होल्ड’ गरिएको थियो । विमानस्थलका अनुसार उक्त जहाज अहिले सुरक्षित अवतरण गरिसकेको छ ।











