Logo
Logo

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल अहिले सुधारको चरणमा रहेको र त्यसका लागि आफूहरू जिम्मेवार भएर उभिएको बताएका छन्।

बुधवार राजधानीमा आयोजित कार्यक्रममा सभापति थापाले अबको पाँच वर्ष खेर नफाल्ने गरी योजनासहित र संकल्पका साथ कांग्रेस अघि बढिरहेको बताए। उनले नागरिक, विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै वर्तमान सरकार सञ्चालनको शैलीप्रति उनीहरूको गुनासो जायज रहेको औँल्याए।

थापाका अनुसार विगत १०–१२ वर्षमा अपेक्षित विकास हुन सकेन, तर अबका पाँच वर्ष खेर नजाने प्रतिवद्धता उनीहरूले जनाएका छन्।

उनले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नभएको र लोकतन्त्र मजबुत बनाउन सबै राजनीतिक दलको सहभागिता आवश्यक रहेको बताए। “राजनीतिक दलहरूसँग विमति र प्रतिस्पर्धा रहन्छ, तर देश बनाउन सबै दल चाहिन्छन्,” उनले भने। उनले देशमा सबै दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता भएको र त्यसमा नेपाली कांग्रेस अग्रणी भूमिका निर्वाह गर्ने दाबी गरे।

सभापति थापाले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरू सत्तामा आए नेपालले त्यसको भार थेग्न नसक्ने चेतावनी दिएका छन्। उनले भने, “परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको छन्। नेपालजस्तो संस्थागत रूपमा बलियो नभएको लोकतन्त्रमा यसको प्रभाव अझ चुनौतीपूर्ण हुनेछ। यदि पपुलिज्म अख्तियारी बोकेर आयो भने परिणाम गम्भीर हुन सक्छ।”

थापाले यसलाई थप स्पष्ट गर्दै भने: “यो निर्वाचनअघि हाम्रो ठूलो प्रश्न के हो भने, के हामी नेपाललाई पपुलिज्मबाट जोगाउन सक्छौं? विश्वका परिपक्व लोकतन्त्रहरूमा पनि पपुलिज्म आएको छ, तर संस्थाहरू बलिया भएकाले केही महिनामै त्यो ढल्छ। हाम्रो सन्दर्भमा संस्थाहरू बलियो बनेका छैनन्। हामीले संस्थाहरूलाई सुदृढ बनाउनु पर्थ्यो, तर पर्याप्त प्रयास भएन। यदि आवधिक निर्वाचनबाट पपुलिज्म अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौं भन्ने हाम्रो अगाडि प्रश्न छ, र यसको उत्तर हामीले ठिक ढंगले खोज्नुपर्छ।”

सभापति थापाले बौद्धिक व्यक्तित्व र पेशाकर्मीहरूलाई पपुलिज्मको विरुद्ध बोल्न पनि आग्रह गरे। उनले हाल पपुलिस्ट शक्तिहरूको विरुद्ध बोल्न समेत डरको अवस्था रहेको उल्लेख गर्दै भने, “प्रश्न गर्न पछि नहट्नुपर्छ। सत्तामा नपुग्दा प्रश्न गर्न नपाइने अधिकार सत्तामा पुगे पनि सुरक्षित नहुने अवस्था आउन सक्नेछ।”

प्रतिक्रिया दिनुहोस्