Logo
Logo

कर्मले चर्चाको शिखरमा रेनु


504
Shares

काठमाडौं । चितवन ३ मा भरतपुर महानगरपालिकाको दुई पटक मेयर बनेकी रेनु दाहाल नै उम्मेदवार भएकाले उम्मेदवारी दर्तासँगै उनको चर्चा चुलिएको छ । गफ गरेरभन्दा पनि काम गरेर जनताको मन जित्ने उनको बानीप्रति मतदाताहरू आकर्षित भएका छन् । रेनुको प्रतिष्पर्धा काठमाडौं क्षेत्र नम्बर २ छाडेर चितवन पुगेकी रास्वपाकी उम्मेदवार सोविता गौतमसँग हुने चर्चा बाहिरी आवरणमा देखिए पनि ग्राउण्ड रिपोर्ट त्यस्तो देखिदैन ।

रेनु नेपालका महानगरपालिकाकै पहिलो मेयर महिला हुन् । दुई कार्यकाल मेयर भएर चितवनको विकासमा उल्लेख्य प्रगति गरेकी रेनुलाई जनसमर्थन बढ्दो छ । सडक, पूर्वाधार, खानेपानी, चक्रपथ, तटबन्ध, रंगशाला जस्ता क्षेत्रमा उल्लेखनीय काम गरेकी छिन् । भरतपुरमा पहिला कालोपत्रे कहाँ छ भनेर खोज्नुपथ्र्यो, अहिले कालोपत्रे कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था रेनुले बनाएकी छिन् । शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम भएको छ । उनी कम बोल्ने र धेरै काम गर्नेमा पर्छिन ।

रेनुले चक्रपथ निर्माण, नारायणी नदी किनारमा तटबन्ध, नारायणगढ नदी किनारलाई व्यवस्थित बनाउने भन्दै ‘सी बिच मोडल’ (समुद्री किनारजस्तै) मा सौन्दर्यीकरण, दूध किसानलाई अनुदान, छोरी बिमा, गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खेलेको भूमिका उल्लेख्य छ ।

महानगरको भित्री खण्ड भएर बग्ने पुङ्गखोला, केरुङ्गा घोलको सौन्दर्यीकरण, जंगली जनावरबाट बस्ती जोगाउन निकुञ्जको मध्यवर्ती वनको सिमानामा निर्माण भएको मेस जाली जस्ता योजना रेनुको कार्यकालमा सम्पन्न भएका छन् ।

देवघाटमा विद्युतीय शवदाह गृह निर्माण भएको छ । खानेपानी सेवा पुगेको छ भने मासिक ७ हजार लिटरसम्म पानी प्रयोग गर्दा शुल्क लाग्दैन । महानगरमा ८८ किलोमिटर लामो चक्रपथ निर्माण, नारायणी नदीमा तटबन्धन जस्ता कामले महानगरवासीलाई सुविधाका साथै सुरक्षा पनि दिएको छ ।

भरतपुर महानगरमा बेरुजु शुन्यमा झारेकी रेनुले सुशासनको जग बसालेकी छिन् । रेनु विकास निर्माणमा अब्बल र नीति निर्माणमा दक्खल राख्ने उम्मेदवार हुन् ।

उता, काठमाडौंमा विकासको नाममा सिन्को पनि भाँच्न नसकेकी रास्वपाकी उम्मेदवार सोविता जमानत जफत हुने डरले चितवन पुगेको आरोप स्थानीयको छ । सांसद भएपछि केही पनि काम नगरेको भन्दै काठमाडौं २ का बासिन्दाले सोविताप्रति आक्रोश पोख्दै आएका छन् ।

नयाँ क्षेत्रका जनतालाई भ्रममा पारेर निर्वाचन जित्न सकिन्छ कि भनेर चितवन पुगेकी सोविता रक्षात्मक बन्न पुगेकी छिन् । जनताको आकर्षण रेनुप्रति देखिएपछि केही प्रायोजित समाचारहरू आएका थिए । ति समाचारपछि सोविता झन रक्षात्मक स्थितिमा पुगेको विश्लेषण गरिएको छ ।

अझ सोविताले काठमाडौं २ मा चार अर्बको काम गरेको भाषण चितवनमा गरेपछि सामाजिक सञ्जालमै ‘काम नगरी गफ दिने’ भन्दै चर्को विरोध भएको छ । उनका भाषणले रास्वपा काठमाडौंमै रक्षात्मक बन्न पुगेको छ । चुनावको बेला विकास निर्माण, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यदेखि स्वदेशमै रोजगारीसम्मका नारा दिए पनि निर्वाचन जितेपछि क्षेत्रमा फर्किनन् । रास्वपा सभापति रवि लामिछानेको वकालत गर्दै उनको समय बित्यो ।

चितवन ३ मा रास्वपाको प्रभाव बाहिरी रुपमा देखिए पनि खास मतदातासम्म पुगेको छैन । केही मिडियाले मत सर्भेक्षण भन्दै निर्वाचन प्रचार सुरु हुनु अघि नै ‘सोविता विजयी’ हुने आँकलनसहितको समाचार सम्प्रेषण गरेपछि चितवन–३ को चुनावी माहोल निकै तरंगित बन्न पुगेको छ । जबकि, भरतपुरको विकास निर्माणमा रेनुकोे उल्लेख्य योगदानको आधारमा उनी लोकप्रिय रहेकाले चितवन–३ मा उनलाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । यो क्षेत्रबाट २०७४ मा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।

गत २०७९को निर्वाचनको मत परिणामअनुसार साविक माओवादीको समानुपातिक मत १६,०९० र अर्को त्यसमै समाहित भएको एकीकृत समाजवादीको मत १,०८५ रहेको थियो । गत निर्वाचनमा एमालेको समर्थनमा चितवन ३ मा उम्मेदवारी दिएका विक्रम पाण्डेले साविक माओवादीका उम्मेदवार डा.भोजराज अधिकारीलाई ९,२३३ मतान्तरले पराजित गरेका थिए ।

अहिले चितवन ३ को अवस्था फेरिएको छ । रेनु दाहालको चर्चा चुलिएसँगै केही मिडियालाई ज्वरो आएको छ । सेटोपाटीको सर्वेक्षणले स्थानीय जनताको रेनुप्रति अझै सहानुभूति जागेको छ । सेटोपाटी अनलाइनको समाचारले सिंगो मिडिया जगतलाई लज्जित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्