Logo
Logo

झापा–५ मा रक्षात्मक बने ओली


1.5k
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निरन्तर चुनाव जित्दै आएको झापा–५मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को उपस्थितिले यस पटकको चुनावी माहौल परिवर्तन गर्दै देशव्यापी चासो र चर्चा बढाएको छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर झापा ५ मा ओलीलाई हराउनैका लागि उम्मेदवारी दिने बालेनको निर्णय निकै रणनीतिक र अर्थपूर्ण छ । फागुन २१ को चुनाव नजिकिँदै गर्दा बालेनले झापा ५ मा दौडधुप निकै बढाएका छन् भने एमाले अध्यक्ष रहेका ओली समेत पार्टीका अन्य कार्यक्रमका लागि देश दौडाहा नगएरै निर्वाचन क्षेत्रमा मात्रै सीमित भएका छन् ।

यसले पनि ओलीलाई झापा ५ विगतजस्तो सहज नरहेको देखिन्छ । एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङले त सार्वजनिक रुपमै चुनावमा अन्यत्र खट्न नदिन नै बालेनलाई झापा लगिएको बताउँदै आएका छन् ।

२०६४ को निर्वाचनमा पराजय व्यहोरेका ओली, त्यसयता भने यही निर्वाचन क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका थिए । यसपटक बालेनको उपस्थितिले भने उनी निकै आत्तिएको उनका अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ । काठमाडौं महानगरमा गठबन्धनसहितको दलीय जनमतलाई परास्त गर्दै मेयर जितेका बालेनले झापा ५ मा पनि सोही परिणाम दोहोर्याउने संशय बढेपछि नै ओलीमा बेचैनी सुरु भएको हो ।

गत भदौ २३ को जेनजी विद्रोहलाई बालेनले पूर्णतया समर्थन गरेका थिए । उनलाई कतिपयले सो विद्रोहको योजकारका रुपमा पनि चित्रित गर्ने गर्छन् । उनले २४ गतेको विध्वंशपछि निम्तिएको सरकारविहीन अवस्थालाई निकास दिन संसद विघटन गर्दै सेनासँग वार्ता गर्न आन्दोलनकारीलाई सामाजिक सञ्जालबाटै सुझाएका थिए । त्यतिबेला प्रधानमन्त्री रहेका ओली भने सेनाको बलमा जेनजी विद्रोहलाई दमन गरेर सत्ता टिकाउने योजना बनाए पनि त्यो सफल हुन नसक्दा उनी सेनाको हेलिकप्टरबाट भागेर सुरक्षित स्थलमा पुगेका थिए ।

यसरी ओली जेनजी आन्दोलनको बेलामा सत्ता रहेर दमन गरेका जेनजी आन्दोलन विरोधी नेता हुन् भने बालेनले जेनजी आन्दोलनलाई परिणाम दिन सक्रियता बढाएका थिए । बालेन जेनजी आन्दोलनकै उपज संसद विघटनपछि हुन लागेको यो निर्वाचनको पक्षपाती हुन् । तर ओली भने संसद पुनस्र्थापनको पक्षमा उभिएर जेनजी आन्दोलनलाई अस्वीकार गर्दै विदेशी षड्यन्त्रको संज्ञा दिँदै आएका छन् ।

त्यस कारण यो ओली–बालेन चुनावी भिडन्तलाई जेनजी आन्दोलनको पक्षधर र विरोधीबीचको प्रतिस्पर्धा भएकाले पनि यसपटक झापा ५ देशका अन्य निर्वाचन क्षेत्रभन्दा सर्वाधिक चासो र चर्चामा रहेको हो ।

झापा ५ कै बासिन्दा रहेका ओलीले यस निर्वाचन क्षेत्रसँग कुनै सम्बन्ध नभएका बालेनलाई प्रमुख चुनौती ठानेर चुनावी क्षेत्रमा मात्रै केन्द्रित हुनुको मुख्य कारण त्यही जेनजी विद्रोहकै परिणाम हो ।

ओलीलाई जेनजी विद्रोहमा दमनकारी भूमिका निर्वाह गरेको भन्दै देशभर उनको र एमालेको छवि धुमिल बनेको छ । त्यसकै उपज अधिकांश एमाले उम्मेदवार यतिबेला पूर्णतया रक्षात्मक देखिन्छन् । सोही देशभरको मनोविज्ञानको प्रभाव झापा ५ मा पर्ने भयले ओलीमा विगतको जस्तो आत्मविश्वास नभएरै मतदाता भेटघाट र घरदैलोमा खटिनुपर्ने बाध्यात्मक अवस्था निम्तिएको छ ।

अहिले आम मतदाताले दल र उम्मेदवारको पत्तो नपाए पनि भोट भने घण्टीलाई दिने भन्दै पुराना दल र नेताप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । विगतदेखि पटक पटक यिनै पुराना दललाई मत दिएर आजित भएका मतदाताहरुले यसपाली विकल्पको रुपमा नयाँ दल रास्वपालाई रोजेको देखिन्छ । त्यही उभार आउने भयले पनि ओली पराजयको त्रसित मनोविज्ञानमा रहेका हुन् ।

गत २०७९ को मतपरिणाम अनुसार झापा ५ मा ओलीले २८ हजार सात सय ४३ मतान्तरले जित हात पारेका थिए । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले जम्मा २३ हजार ७ सय ४३ मत ल्याएका थिए ।

यसरी विगतमा कांग्रेस–माओवादीको गठबन्धलाई समेत भारी मतान्तरले पराजित गरेका ओली यसपटक भने बालेनको उपस्थितिले हतोत्साहित भएका छन् । जेनजी विद्रोहमा दमनकारी भूमिका खेलेको आरोप आफूमाथि लागेकाले आफ्नो पक्षमा अनपेक्षित परिणाम आउने भयले ओलीको मनस्थिति सन्त्रासमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्