Logo
Logo

प्रचण्डलाई महेश्वर दाहालको टेन्सन


630
Shares

काठमाडौं । आसन्न फागुन २१ को निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नोसहित अन्य तीन निर्वाचन क्षेत्रले पनि तनाव बढाएको छ । प्रचण्डले आफूसहित परिवारका सदस्य छोरी रेनु दाहाल र बुहारी बिना मगरलाई पनि चुनावी मैदानमा उतारेका छन् । चितवन– ३ बाट छोरी रेनु दाहाल उम्मेदवार बनेकी छिन् भने बुहारी बिना मगर कञ्चनपुर–१ बाट नेकपाको उम्मेदवार बनेकी छिन् ।

आफूसँगै पारिवारिक सदस्य रहेका यी दुई जनालाई चुनाव जिताउनुपर्ने दबाबमा रहेका प्रचण्डलाई अर्कोतिर सिन्धुली–२ ले पनि थप ‘टेन्सन’ बढाउँदै चुनौती थपेको छ । केही दिनअघि चुनावी कार्यक्रममा सिन्धुली पुगेका उनले नेकपाबाट उम्मेदवारी दिएका राजन दाहाललाई अन्तर्राष्ट्रियस्तरको नेताको उपमा दिँदै प्रशंसा गरेका थिए ।

यसले पनि प्रचण्डको राजन दाहालप्रतिको मोह दर्शाउँछ । सिन्धुली–२ मा प्रचण्डका अर्का पुराना सारथि महेश्वर दाहालले उनै राजन दाहालविरुद्ध बागी उम्मेदवारी दिएपछि प्रचण्डलाई थप ‘टेन्सन’ भएको छ ।

महेश्वर दाहाल प्रचण्डको पूर्ववत पार्टीको भातृ संगठन प्रेस सेन्टर नेपालको संस्थापक अध्यक्ष हुन् । माओवादीमा असारे काका भनेर चिनिने महेश्वरका बुबा ईश्वरी दाहाल सिन्धुलीको पुराना कम्युनिष्ट नेताका साथै, माओवादी आन्दोलनमा प्रचण्डका समेत अग्रज नेता हुन् ।

सिंगै परिवार नै माओवादी आन्दोलनमा होमिएका महेश्वर दाहालको उम्मेदवारी सिन्धुली २ मा प्रचण्डका विश्वासपात्र राजन दाहालको जितमाथि तगारो बनेर खडा भएको छ । यद्यपि, पछिल्लो समय राजन दाहालको माहोल बन्दै गएको छ ।

महेश्वरसहित उनको सिंगै परिवार माओवादी जनयुद्धमा होमिँदा राजन भने आत्मसमर्पण गरेर पार्टीबाट पलायन भएको आरोप जिल्लामा लाग्ने गरेको छ । अहिले उनै राजनलाई प्रचण्डले काखी च्यापेपछि महेश्वर रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएको बताइन्छ ।

प्रचण्डले स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहालसहित अर्का वरिष्ठ नेता हरिबोल गजुरेललाई उनको उम्मेदवारीको प्रस्तावक बनेको भन्दै कारबाही गरेका छन् । उनै महेश्वरलाई सघाएको भन्दै पार्टीका अन्य दुई नेता जिल्ला संयोजक र इन्चार्ज पनि कारबाहीमा परेर पार्टीबाट निष्कासित भएका छन् ।

यसरी तत्कालीन माओवादीको गढका रुपमा रहेको पूर्वको रोल्पा भनेर परिचित सिन्धुली–२ मा यसपटक विगतको विरासत जोगाउन निकै कठिन भएको छ ।

सिन्धुली–२मा विगतदेखि नै बागी उम्मेदवारले जित हासिल गरेको इतिहास रहेकाले पनि यसपाली महेश्वरको उम्मेदवारीले प्रचण्डको तनाव निकै बढाएको छ । २०६४ मा सिन्धुली–२ मा माओवादीले जनमोर्चाका लिलामणि पोखरेललाई समर्थन गर्ने संस्थागत निर्णय गरे पनि त्यस विपरीत उम्मेदवारी दिएकी निरु दर्लामीले जित हात पारेकी थिइन् ।

यसपटक पनि पार्टीको जिल्ला इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जन महेश्वरकै पक्षमा लागेर कारबाही भोगेका छन् । पार्टीको जिल्ला कमिटी नै बागी उम्मेदवार महेश्वरसँगै रहेपछि विगतकै इतिहास दोहोरिने भयले प्रचण्ड सशंकित छन् ।

गत २०७९ को निर्वाचनमा सिन्धुली २ मा राजन दाहालले ५,८३० मतान्तरसहित एमालेका मनोजजंग थापालाई पराजित गरेका थिए । कांग्रेस र तत्कालीन एकीकृत समाजवादी सहितको गठबन्धनबाट उम्मेदवार बनेका राजनले २७,५१७ मत ल्याएर विजयी हुँदा पराजय व्यहोरेका मनोजजंग थापाले २१,६८७ मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रमा साविक माओवादीको समानुपातिक मत १८, २७१ रहेको छ भने एकीकृत समाजवादीको मत ६५८ थियो ।

यसपटक जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएका राजन दाहाललाई प्रदेश र जिल्ला पार्टी कमिटीको निर्णय विपरीत प्रचण्डले जबरजस्ती सिन्धुली २ मा टिकट दिलाएर पठाएका थिए । त्यसैले पनि उनी राजन दाहालको चुनावी परिणामबारे चिन्तित रहेको यसबाटै प्रष्ट हुन्छ ।

प्रचण्डले जिल्ला कमिटी र बागमती प्रदेश कमिटीको निर्णय विपरीत राजन दाहाललाई टिकट दिएपछि सिन्धुली पार्टीले असन्तुष्टि जनाएको थियो । राजन दाहालको जिल्लामा व्यवसायिक सञ्जाल व्यापक रहेको बताइन्छ ।

जोखिममा विना मगर

कञ्चनपुरमा उम्मेदवारी दिएकी विना मगरको चुनावी माहोल त्यति उत्साहप्रद देखिएको छैन । विगतमा प्रचण्डमाथि परिवारवादको आरोप लाग्दै आएको बेला यसपालि पनि उनैलाई उम्मेदवार बनाएपछि स्थानीय नेताहरू असन्तुष्ट रहेको चर्चा छ । तथापि, संयोजक प्रचण्डको इज्जत जोगाउनकै लागि भए पनि अहिले विनाको चुनावी प्रचारमा जिल्लाका नेताहरू जोडतोडले लागेका छन् । साविक माओवादीको सांगठनिक अवस्था कञ्चनपुर–१ मा खासै मजबुत छैन ।

गत निर्वाचनको मत परिणामअनुसार तत्कालीन माओवादीबाट उम्मेदवार रहेकी यिनै विनालाई एमालेका तारा लामाले ५,५४३ मतान्तरले पराजित गरेका थिए । लामाले २४,९४३ मत ल्याएर विजयी हुँदा विनाले १९, ४०० मत ल्याएकी थिइन् । यो त्यतिबेला कांग्रेस लगायतका दलसँगको चुनावी सहकार्यको साझा मत थियो ।

कञ्चनपुर १ मा साविक माओवादीको समानुपातिक मत ८,०७४ रहेको छ भने एकीकृत समाजवादीको जम्मा ६०८ मात्रै छ । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरुको एकतापछि उल्लेख्य मत बढ्ने विगतको मतपरिणामको आँकडा अनुसार देखिँदैन ।

यसपटक पनि उनै तारासँग विनाको प्रतिस्पर्धा हुन लागेको छ । कञ्चनपुर–१ मा विगतदेखिको मत परिणामबाट यहाँका मतदाताले हरेक निर्वाचनमा नयाँलाई मौका दिँदै आएको देखिएकाले यसपटक पनि नयाँले बाजी मार्ने सम्भावना देखिन्छ ।

हरेक निर्वाचनमा चुनावी क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्ड आफैंलाई भने यसपटकको निर्वाचन क्षेत्र पूर्वी रुकुम सुरक्षित नै देखिन्छ । तीनवटा मात्रै स्थानीय तह भएको सानोे जिल्ला पूर्वी रुकुमको सबै क्षेत्रमा साविकको माओवादीले क्लीन स्विप गरेकाले पनि यहाँ निर्वाचन जित्न उनलाई कठिन छैन ।

गत आम निर्वाचनमा पनि माओवादीका प्रतिनिधिसभा उम्मेदवार पूर्ण घर्ती यहीबाट ७ हजार ५१ मतान्तरले विजयी भएका थिए । १२ हजार २६२ मत ल्याएर साविक माओवादीका घर्ती विजयी हुँदा एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याएका थिए ।

त्यतिबेला कांग्रेससहितको गठबन्धन रहे पनि माओवादीको संगठित मत समेत यहाँ बलियो हुँदा एक्ले लड्दा पनि चुनाव जित्न सहजै छ ।

गत निर्वाचनमा माओवादीको समानुपातिक मत पूर्वी रुकुममा ७,८५५ रहँदा अर्को समाहित घटक एकीकृत समाजवादीको २०४ मात्रै छ । यसपटक प्रचण्डलाई गणितीय रुपले निर्वाचन जित्न सहज भए पनि सहीदपुत्रको उम्मेदवारीले भने उनीमाथि राजनीतिक प्रश्न उठाएको छ । माओवादी जनयुद्धको कमाण्डर रहेका प्रचण्डलाई त्यहीँ जनयुद्धमा बुबाआमा गुमाएका सहिदपुत्र सन्दीप पुनले यहाँ उनी विरुद्ध उम्मेदवारी दिएका छन् । उनी जनयुद्धका सहिद सूर्यप्रकाश पुन र परम्परा गौतमका पुत्र हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् ।

आफैंले नेतृत्व गरेको जनयुद्धका सहिदका सन्ततीसँग प्रतिस्पर्धा गर्नुपर्ने प्रचण्डको बाध्यात्मक अवस्थालाई विपक्षीले जनयुद्धको दुरावस्थाको रुपमा चित्रण गरेका छन्् । यस निर्वाचनमा प्रचण्डको आफ्नै निर्वाचन क्षेत्र पूर्वी रुकुममा सहिदपुत्रको उम्मेदवारीले नैतिक रुपमा चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्