काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल चरम अनियमितामा फसेको छ । सेटिङमा काम गर्दै आएका अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसेलाई मेसिन खरिदको ठेक्का दिनुपर्ने शर्तमा दुई सप्लायर्स कम्पनीले परिवारसहित चीन र भारत भ्रमण गराएका छन् ।

चालिसेले श्रीमती सृजना कोइरालासहित एक सप्लायर्सको प्रायोजनमा ६ दिने चीन भ्रमण र अर्को सप्लायर्सको प्रायोजनमा १० दिने भारत भ्रमण गरेर फर्किएका छन् । ठेक्काको आशामा सप्लायर्सले विदेश भ्रमण गराएको स्रोतले बताएको छ ।
चालु आर्थिक वर्षमा पेट सिटी स्क्यान खरिदका लागि छुट्याइएको २२ करोड २२ लाख रुपैयाँ बजेट कार्यान्वयन हुन सकेको छैन । अस्पताल स्रोतका अनुसार निर्देशक चालिसे कात्तिक महिनामा एक आपूर्तिकर्ता कम्पनीको प्रायोजनमा चीन भ्रमणमा गएका थिए भने हालै अर्को कम्पनीको प्रायोजनमा भारतका विभिन्न शहरको भ्रमण गरी फर्किएका छन् । खरिद प्रक्रियाको पारदर्शितामाथि कर्मचारीले प्रश्न उठाएका छन् ।
चालु आवमा लिक्विड वेस्ट म्यानेजमेन्ट शीर्षकमा दुई करोडभन्दा बढी बजेट विनियोजन भएकोमा विगतमा असफल सोलिड वेस्टलाई नै ठेक्का दिने तयारी गरिएको आरोप छ । सो सम्बन्धमा चालिसेले २१ लाख रुपैयाँ अग्रिम लिएको कर्मचारीहरूको आरोप छ ।
चिकित्सक र कर्मचारीले निर्देशक चालिसेले सेटिङमा काम गरेर अस्पताललाई जीर्ण बनाएको बताएका छन् । स्रोतका अनुसार प्रशासन र लेखा शाखाले असहमति जनाए पनि चालिसेले एकल निर्णय गर्दै आएको स्रोतको दाबी छ ।
पेट सिटी स्क्यानका नाममा विभिन्न होटलमा कार्यक्रम आयोजना गरी लाखौं रुपैयाँको बिल पेश गरेका छन् । तर, लेखाले भुक्तानी दिन मानेको छैन । चालिसेले आफू डाइरेक्टर भएकाले आफूले भनेअनुसार नै हुने भन्दै बिलको भुक्तानीका लागि लेखालाई दबाब दिइरहेको स्रोले जनाएको छ । कर्मचारीहरूले यस विषयमा स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।











