काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण नबनेको बताएका छन् । उनले देशको सार्वभौम संसद्लाई ध्वङ्सको माध्यमबाट बलजफ्ति विघटन गरिएपछि देश सङ्कटतर्फ धकेलिएको बताएका छन् । शुक्रवार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आई परेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको बताए ।

एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए ।
ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको ओलीको आरोप छ । कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे ।
कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव पनि दिए ।











