काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक (निलम्बित) महामन्त्री मुकुल ढकालले जेनजी प्रदर्शनका क्रममा भएका घटना र नेपाल प्रहरीको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भविष्यमा हुन सक्ने सुरक्षा चुनौती र प्रहरीको हतियारको गुणस्तरका बारेमा राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका हुन् । ढकालले भोलि बालेन्द्र शाह, गगन थापा वा अन्य कोही प्रधानमन्त्री भएको समयमा प्रदर्शनकारीले संसद् भवनको पर्खाल फोड्न वा जलाउन थाले प्रहरीले के गर्छ भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘एउटा प्रश्नमा म अनुत्तरित छु । भोलि बालेन प्रधानमन्त्री भए, गगन प्रधानमन्त्री भए वा अरू कोही प्रधानमन्त्री भए र त्यतिबेला प्रदर्शनकारीले संसद् भवनको पर्खाल फोड्न थाले, जलाउन थाले भने बालेन सरकार, गगन सरकार वा अरू कोहीको सरकारको प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँछ कि चलाउँदैनरु प्रहरीले हतियार कुन अवस्थामा प्रयोग गर्छ ?’
सुरक्षाकर्मीसँग रहेका हतियारको अवस्थाबारे टिप्पणी गर्दै ढकालले नेपाल प्रहरीको हतियारको ‘टार्गेट रेन्ज’ नै कमजोर रहेको दाबी गरेका छन्। ‘एकदम क्लोज रेन्जमा मात्र निशानामा हान्ने रहेछ, अलि पर भएपछि घुँडामा हान्दा टाउकोमा लाग्ने प्रकारको रेन्ज नै नभएको ज्यादै कमसल हतियार रहेछ प्रहरीसँग,’ उनले भनेका छन् । अबका दिनमा प्रहरीलाई हतियार नबोक्ने बनाउने कि जहाँ ताक्यो त्यहीँ लाग्ने राम्रो रेन्जको हतियार दिने भन्नेमा स्पष्ट हुनुपर्ने उनको तर्क छ ।











