Logo
Logo

खामेनीको अवसान : एक शक्तिशाली र कट्टरपन्थी युगको अन्त्य


1.1k
Shares

एजेन्सी । इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको छ । झन्डै साढे तीन दशकसम्म इरानको निर्विकल्प शक्तिका रूपमा रहेका खामेनीको आज निधन भएको हो । खामेनीको निधनसँगै मध्यपूर्वको राजनीतिमा एउटा महत्वपूर्ण अध्यायको अन्त्य भएको छ ।

खामेनी आफ्नो कट्टर इजरायल विरोधी छविका लागि परिचित थिए । उनले विभिन्न अवसरमा इजरायलको अस्तित्व समाप्त गर्नुपर्ने कुरा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए । उनले इजरायललाई पश्चिम एसियाली क्षेत्रको ‘क्यान्सरग्रस्त ट्युमर’ को संज्ञा दिँदै त्यसलाई उखेलेर फाल्नुपर्ने र त्यो अवश्य हुने दाबी गर्थे ।

खामेनीको यही आक्रामक नीतिका कारण इजरायलले उनलाई आफ्नो अस्तित्वकै लागि खतरा मान्दै आएको थियो । गत वर्ष जुन महिनामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिलो पटक खामेनीलाई निशाना बनाउने संकेत गरेका थिए । एबीसी च्यानलसँगको अन्तर्वार्तामा नेतन्याहूले भनेका थिए, ‘खामेनीको मृत्युले द्वन्द्व बढाउने होइन, बरु यसको अन्त्य गर्नेछ ।’

अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार, इजरायलले खामेनीको हत्या गर्ने योजना बनाए पनि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए । ट्रम्पले खामेनीलाई मार्नु उपयुक्त नहुने र यसले क्षेत्रीय युद्ध निम्त्याउन सक्ने तर्क गरेका थिए । यद्यपि, ट्रम्पले पछि ट्रुथ सोसलमा लेखेका थिए, ‘हामीलाई सर्वोच्च नेता कहाँ लुकेका छन् भन्ने थाहा छ, उनी सजिलो निशाना हुन् तर अहिलेका लागि उनी सुरक्षित छन् ।’

बाल्यकालदेखि ‘सर्वोच्च नेता’ सम्मको यात्रा
सन् १९३९ मा इरानको पवित्र सहर मशहदमा जन्मिएका खामेनी ११ वर्षकै उमेरमा मौलवी बनेका थिए । तत्कालीन शाह मोहम्मद रेजा पहलवीको धर्मनिरपेक्ष शासनप्रति उनको तीव्र असन्तोष थियो । युवावस्थामा कविता र साहित्यमा रुचि राख्ने उनी पछि आयतुल्लाह रुहोल्लाह खुमैनीको कट्टर अनुयायी बने ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि शाहको सत्ता ढल्यो र खुमैनीको नेतृत्वमा इरानमा इस्लामिक गणतन्त्र स्थापना भयो । खामेनीले खुमैनीको निकटतम सहयोगीका रूपमा आईआरजीसीको गठनमा महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८१ मा उनीमाथि भएको प्राणघातक बम आक्रमणमा उनको दाहिने हात पक्षघातग्रस्त भएको थियो ।

शक्तिशाली र अविचलित नेतृत्व
सन् १९८१ देखि १९८९ सम्म इरानको राष्ट्रपति बनेका खामेनीले खुमैनीको निधनपछि सर्वोच्च नेताको पद सम्हालेका थिए । उनको शासनकालमा इरानले इराकको आक्रमण झेल्यो भने अर्कोतर्फ परमाणु कार्यक्रमका कारण कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना ग¥यो । उनी अमेरिकालाई ‘ठूलो शैतान’ र इजरायललाई ‘सानो शैतान’ मान्थे ।

उनको साढे तीन दशक लामो कार्यकाल दमन, मानवअधिकार उल्लंघन र कट्टरपन्थलाई प्रश्रय दिएको आरोपबाट मुक्त रहेन । विशेष गरी सन् २०२२ मा महसा अमीनीको मृत्युपछि भएको प्रदर्शनलाई निर्ममतापूर्वक दबाएकोमा उनको अन्तर्राष्ट्रियस्तरमै आलोचना भएको थियो ।

खामेनीको निधनले इरानलाई अब कुन बाटोमा लैजान्छ भन्ने कुरा रहस्यकै गर्भमा छ । के इरानले अब उदारवादको बाटो समात्ला ? वा थप कट्टरपन्थी उत्तराधिकारीको खोजी गर्ला ?

यद्यपि, इजरायल र अमेरिकासँगको उसको दशकौँ लामो टकराव र क्षेत्रीय प्रभुत्वको लडाइँले खामेनीलाई इतिहासमा एक प्रभावशाली तर विवादास्पद नेताका रूपमा जीवित राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्